२८ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको घटनामा सोधपुछका लागि बोलाइएका सबै व्यक्तिलाई प्रहरीले बयान लिएपछि रिहा गरेको छ। प्रहरीले उनीहरूलाई पक्राउ नगरी केवल घटनाबारे जानकारी लिनका लागि बोलाइएको स्पष्ट पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनासँग सम्बन्धित महानगर प्रहरीका कर्मचारी तथा प्रत्यक्षदर्शीसँग आवश्यक सोधपुछ र विवरण संकलन गरिसकेपछि उनीहरूलाई सोही दिन घर फर्काइएको हो।
गणेश नेपालीले राहदानी विभाग बाहिर आफ्नो मोटरसाइकलमा ह्वील लक लगाइएको विषयमा विवाद भएपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो।
घटनापछि सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनाको सम्पूर्ण पक्षको अध्ययन गर्दै आवश्यक प्रतिवेदन तयार गर्ने जनाएको छ।





