समाचार

सञ्चारगृहअघि शंकास्पद गाडी राखिएको घटनाप्रति एमालेको आपत्ति

२९ असार, काठमाडौं । नेकपा एमालेले अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया समूहका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा सञ्चारकर्मीलाई त्रसित बनाउने र समाचार संकलन तथा सम्प्रेषणमा अवरोध पुर्‍याउने कुनै पनि गतिविधि अस्वीकार्य भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सञ्चारगृहको प्रवेशद्वारमै सवारी साधन राखेर पत्रकारहरूको आवतजावत प्रभावित पार्नु लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको जनाइएको छ।

एमालेले सञ्चार संस्था र पत्रकारलाई डर तथा दबाबमा राख्ने उद्देश्यले गरिएको जस्तो देखिने यस्तो गतिविधिको भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, दोषीको पहिचान गरी कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेको छ। साथै सञ्चारकर्मीले निर्भीक रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न सक्ने वातावरण सुनिश्चित गर्न पनि सरकारलाई आग्रह गरेको छ।