समाचार

अन्न पिस्न गएका दुई जनामाथि खस्यो पहिरो, पानीघट्टमै दुःखद मृत्यु

२९ असार, काठमाडौं । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ स्थित काप्रिखोलामा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार स्थानीय ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद बिहान अन्न पिस्न पानीघट्ट पुगेका थिए। उनीहरू घट्टभित्र रहेका बेला माथिबाट अचानक आएको पहिरोले पुरिएपछि घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी मेहलमुडीबाट खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरी दुवै जनालाई पहिरोबाट बाहिर निकालेको थियो। तर उद्धारका क्रममा उनीहरूको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पहिरोका कारण पानीघट्टको आधा भागसमेत क्षतिग्रस्त भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।