२९ असार, काठमाडौं । सम्पत्ति छानबिन आयोगले न्यायाधीश तथा सैनिक अधिकारीबाहेक अन्य व्यक्ति र पदाधिकारीको सम्पत्तिमाथिको छानबिन प्रक्रिया यथावत् रहने स्पष्ट पारेको छ।
सोमबार जारी गरिएको विज्ञप्तिमा आयोगले सर्वोच्च अदालतको आदेशलाई लिएर फैलिएको अन्योल हटाउँदै, बहालवाला तथा पूर्व न्यायाधीश र बहालवाला तथा पूर्व सैनिक अधिकारीको हकमा मात्रै जाँचबुझको प्रक्रिया अस्थायी रूपमा स्थगित भएको जनाएको छ।
आयोगका अनुसार सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश ती विशिष्ट पदमा रहेका वा रहिसकेका व्यक्तिहरूमा मात्र लागू हुने भएकाले अन्य व्यक्तिको सम्पत्ति छानबिन रोकिएको भन्ने बुझाइ सही होइन।
आयोगले कानुनी व्यवस्थाअनुसार अन्य सबै व्यक्तिको सम्पत्तिसम्बन्धी जाँचबुझ र अनुसन्धान नियमित रूपमा अघि बढिरहेको स्पष्ट पारेको छ।






