ब्रेकिङ न्युज

समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत, पहिलो चरणमै ४२ जनाले पाए बचत रकम

३० असार, काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त पाँच वटा बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो।

मंगलबार जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले बचतकर्तालाई रकम हस्तान्तरण गर्दै साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्न थालिएको बताए।

प्रदेश सरकारले सिभिल, दर्शन, सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ। यी पाँच सहकारीका १४ हजार ६४ जना बचतकर्ताले २२ अर्ब ३८ करोड रुपैयाँ फिर्ताको माग दर्ता गरेका छन्।

मुख्यमन्त्री बानियाँका अनुसार ती सहकारीमा ५१ हजार १९० सदस्यको करिब ३१ अर्ब ६ करोड रुपैयाँ बचत रहेको अभिलेख छ। पहिलो चरणमा १० हजारदेखि १ लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न थालिएको उनले जानकारी दिए।

उनले सहकारीलाई सञ्चालन अनुमति दिने तर प्रभावकारी अनुगमन हुन नसक्दा बचतकर्ताको रकम जोखिममा परेको स्वीकार गर्दै आगामी दिनमा सहकारी क्षेत्रको नियमन र अनुगमन थप कडा बनाइने प्रतिबद्धता पनि व्यक्त गरे।