३० असार, काठमाडौं । अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि हेटौंडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्ड रातिको समयमा बन्द गरिने भएको छ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना रोक्न हेटौंडा–भैंसे–काठमाडौं सडकखण्ड र कान्ति राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
प्रशासनका अनुसार मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ५ बजेसम्म दुवै सडकखण्डमा आवतजावत बन्द रहनेछ।
पछिल्ला दिनमा परेको निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र खोलानालाको बहाव बढेको छ। साथै, बागझोर क्षेत्रमा गेग्रानसहितको भेल आउन सक्ने जोखिम, भीमफेदीस्थित बेलिब्रिज मर्मतको अवस्था र वैकल्पिक सडकमा समेत क्षतिको जोखिम देखिएपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
हेटौंडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौं जाने सडकमा वर्षा हुँदा ढुंगा खस्ने र पहिरो जाने सम्भावना उच्च रहेकाले यात्रुलाई रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको छ।






