३१ असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कानुनी प्रक्रिया पूरा गरी बुधबार रिहा भएका छन्। अदालतले तोकेको कैद सजायभन्दा बढी समय जेलमा बिताइसकेपछि उनलाई मुक्त गरिएको हो।
काठमाडौं जिल्ला अदालतले मंगलबार ठगी मुद्दामा झालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। तर उनी यसअघि नै करिब दुई वर्षदेखि सुन्धारा कारागारमा रहेकाले तोकिएको सजायभन्दा बढी अवधि भुक्तान गरिसकेका थिए।
काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार झालाई रिहा गर्न कारागार कार्यालयलाई मंगलबार नै पत्र पठाइएको थियो। उनी २०८१ असार १४ गते पक्राउ परेका थिए।
रिहा हुनुअघि अदालतको आदेशअनुसार उनले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित कानुनी प्रक्रिया पनि पूरा गर्ने जनाइएको छ।
नक्कली शरणार्थी प्रकरणसँगै झाविरुद्ध अन्य निकायमा रहेका मुद्दाको प्रक्रिया भने जारी रहनेछ।





