समाचार

शंकास्पद गाडी प्रकरणमा नयाँ खुलासा, सुनिल पौडेलको नाम किन जोडियो ?

३१ असार, काठमाडौं । काठमाडौंका प्रमुख सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी प्रकरणमा नयाँ विवरण सार्वजनिक भएको छ। अनलाइनखबरको गेट अगाडि राखिएको गाडी सुनिल पौडेलको नाममा दर्ता रहेको खुलेपछि उनको पृष्ठभूमिबारे चासो बढेको छ।

सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको प्रवेशद्वार अगाडि आवागमन अवरुद्ध हुने गरी गाडीहरू राखिएका थिए। अनलाइनखबरको गेट अगाडि रहेको बा १२ च ८५४५ नम्बरको गाडी दिउँसो करिब २ बजे क्रेनको सहायताले हटाइएको थियो।

यातायात कार्यालयको विवरणअनुसार उक्त गाडी काठमाडौंको गोकर्णेश्वर निवासी सुनिल पौडेलको नाममा रहेको छ। स्रोतका अनुसार पौडेल पूर्वसचिव महेश्वर न्यौपानेका भान्जा हुन्।

पौडेल विगतमा जग्गा प्लटिङ तथा बालुवा व्यवसायमा संलग्न रहेको बताइएको छ। उनी पहिले एमाले निकट युवा संघसँग जोडिएका थिए भने पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेको स्रोतको दाबी छ।

सुनिल पौडेल र उनका भाइ सुजन पौडेलले गोकर्णेश्वर–९, भगवतीस्थानमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस सञ्चालन गर्दै आएका छन्। गाडी दर्ताका क्रममा प्रयोग गरिएको मोबाइल नम्बर र क्लिनिक विवरणमा प्रयोग भएको नम्बर एउटै रहेको जनाइएको छ।

गाडी आफ्नो नाममा रहेको स्वीकार गर्दै पौडेलले भने उक्त समयमा गाडी कहाँ पार्किङ गरिएको थियो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका थिए। उनले गाडी अर्कै व्यक्तिले चलाइरहेको भन्दै भाइ सुजनको नम्बर उपलब्ध गराएका थिए।

त्यसपछि सम्पर्कमा आएका सुजन पौडेलले गाडी पार्किङको विषयमा प्रश्न गर्दा आक्रोशित प्रतिक्रिया दिएका थिए।

यता कान्तिपुर मिडिया हाउसको गेट अगाडि राखिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी भने रास्वपा नेता रवि जयसवालको रहेको खुलेको छ। उनी केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए।

सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनापछि यसको उद्देश्य र संलग्न व्यक्तिहरूबारे विभिन्न कोणबाट चासो बढेको छ।