३२ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको त्रासको पर्याय बनेको ‘ध्रुवे’ हात्तीलाई १० दिन लामो खोज र विशेष अपरेसनपछि नियन्त्रणमा लिइएको छ। पटक–पटक मानव बस्तीमा प्रवेश गरी क्षति पुर्याउँदै आएको ध्रुवेलाई निकुञ्ज प्रशासन, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले असार ३१ गते राति नियन्त्रणमा लिएको हो।
असार २० गते ध्रुवेको आक्रमणबाट दुई स्थानीयको मृत्यु भएपछि पश्चिम चितवनका बासिन्दामा त्रास बढेको थियो। त्यसपछि हात्ती नियन्त्रण गर्न टोलीले निकुञ्जको कोर क्षेत्रमा लगातार निगरानी र खोजी अभियान सञ्चालन गरेको थियो।
निकुञ्जका अनुसार वर्षायाम, बाक्लो झाडी र कठिन भौगोलिक अवस्थाका कारण ध्रुवेको खोजी चुनौतीपूर्ण बनेको थियो। तीन सिफ्टमा परिचालित टोलीले अन्ततः सुखीभार क्षेत्र नजिक ध्रुवेलाई भेटेर नियन्त्रणमा लिन सफल भएको हो।
टोलीले ध्रुवेलाई पहिले ‘जाइलाजिन’ औषधि प्रयोग गरी लठ्याएको थियो भने त्यसपछि ‘एम–९९’ नामक एनेस्थेसिया औषधि दिएर बेहोस बनाइएको थियो। बेहोस भएपछि करिब ४० मिनेटभित्र उसको घाँटीमा अत्याधुनिक स्याटेलाइट रेडियो कलर जडान, दाह्रा काट्ने र आवश्यक उपचार गरिएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरणराज रिजालका अनुसार ठूलो शरीर भएको हात्तीलाई सुरक्षित रूपमा ढाल्नु आफैंमा चुनौतीपूर्ण काम हो। बेहोस बनाउँदा हात्ती लड्ने क्रममा आन्तरिक चोट लाग्ने जोखिम भए पनि ध्रुवे सुरक्षित रूपमा ढलेको र उपचारपछि केही समयमै उठेर जंगलतर्फ गएको उनले बताए।
मत्त हुने हर्मोन नियन्त्रण गर्ने औषधि प्रयोग
ध्रुवेको आक्रामक व्यवहार नियन्त्रण गर्न यसपटक विशेष औषधिसमेत प्रयोग गरिएको छ। टोलीले हात्तीमा मत्त हुने अवस्थासँग सम्बन्धित हर्मोन नियन्त्रण गर्ने ‘जीएनआरएच एनालग’ औषधि प्रयोग गरेको हो।
प्राविधिकहरूका अनुसार उक्त औषधिको प्रभाव ७२ घण्टापछि सुरु हुनेछ र करिब डेढ महिनासम्म रहनेछ। यसले ध्रुवेलाई सामान्य व्यवहारमा फर्किन र जंगलमै रहन सहयोग गर्ने अपेक्षा गरिएको छ।
दाह्रा काटियो, अत्याधुनिक प्रविधिले गर्नेछ निगरानी
ध्रुवेको दाह्रा यसअघि पनि काटिएको थियो। यसपटक करिब ६ इन्च दाह्रा काटिएको छ। दाह्रा काट्दा हात्तीको स्वास्थ्यमा असर नपर्ने र बस्तीमा भौतिक क्षति कम गर्न सहयोग पुग्ने प्राविधिकहरूको भनाइ छ।
ध्रुवेको घाँटीमा जडान गरिएको नयाँ स्याटेलाइट रेडियो कलरमार्फत उसको गतिविधि निरन्तर निगरानी गरिनेछ। यस प्रविधिमा ‘जियो फेन्सिङ’ प्रणालीसमेत प्रयोग गरिएको छ, जसले हात्ती मानव बस्ती नजिक पुग्न थाले तत्काल सूचना दिनेछ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनका अनुसार नयाँ कलरले करिब १०–१५ मिनेटको अन्तरालमा ध्रुवेको अवस्थाबारे जानकारी पठाउनेछ। यसबाट हात्ती बस्ती क्षेत्रमा प्रवेश गर्नुअघि नै स्थानीयलाई सचेत गराउन र उद्धार टोली परिचालन गर्न सहज हुनेछ।
२५ जनाको मृत्यु गराइसकेको ध्रुवे
निकुञ्ज प्रशासनका अनुसार ध्रुवे हात्तीले पहिलो पटक २०६६ सालमा मानिस मारेको थियो। त्यसयता यसको आक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ।
ध्रुवेको घाँटीमा यसअघि पनि तीन पटक रेडियो कलर जडान गरिएको थियो। तर यसपटक प्रयोग गरिएको प्रविधि पहिलेभन्दा आधुनिक रहेको अधिकारीहरूले बताएका छन्।
निकुञ्ज प्रशासनले ध्रुवेलाई जंगलमै सुरक्षित राख्दै मानव–वन्यजन्तु द्वन्द्व घटाउने लक्ष्य लिएको छ। अधिकारीहरूले भनेका छन्– प्रविधि र व्यवस्थापनसँगै स्थानीयको सचेतना र सहकार्य पनि आवश्यक छ।





