१ साउन, काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र मास्टर्नी को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्दले शिक्षक समुदाय, विशेषगरी महिला शिक्षकको गरिमामाथि चोट पुर्याएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको मागसहित निवेदन दर्ता गरिएको छ।
तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले शुक्रबार मन्त्रालयमा लिखित निवेदन दर्ता गर्दै गीतमाथि कारबाहीको माग गरेका हुन्।
निवेदनमा उक्त गीतले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक र शिक्षण पेसालाई अपमानित गर्ने तथा समाजमा गलत सन्देश फैलाउने खालका शब्द प्रयोग गरेको आरोप लगाइएको छ। त्यसैले गीतको प्रसारण तथा प्रदर्शनमा रोक लगाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
गीतविरुद्ध औपचारिक रूपमा मन्त्रालयमा उजुरी परेपछि यस विषयले थप चर्चा र बहस सिर्जना गरेको छ। हालसम्म भने गीतका निर्माता वा कलाकारको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।






