अन्तर्राष्ट्रिय

ब्रिटिस स्टिल राष्ट्रियकरणमा चीनको आपत्ति

१ साउन, काठमाडौं ।  बेलायत सरकारले ब्रिटिस स्टिललाई पूर्ण रूपमा राष्ट्रियकरण गर्ने निर्णय कार्यान्वयन गरेपछि चीनले त्यसप्रति कडा असन्तुष्टि जनाउँदै यसलाई ‘राष्ट्रिय सुरक्षाको बहानामा गरिएको जबर्जस्ती कब्जा’ को संज्ञा दिएको छ । बेइजिङले बेलायतलाई अन्तर्राष्ट्रिय नियमको पालना गर्न तथा चिनियाँ लगानीकर्तालाई निष्पक्ष व्यवहार गर्न आग्रह गरेको छ । चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा बेलायत सरकारले चिनियाँ कम्पनी जिङ्येको स्वामित्वमा रहेको ब्रिटिस स्टिललाई राष्ट्रिय सुरक्षाको नाममा आफ्नो नियन्त्रणमा लिएको आरोप लगाएको छ ।

मन्त्रालयले बेलायतमा लगानी गरेका चिनियाँ उद्यमप्रति समान र निष्पक्ष व्यवहार गर्न लन्डनलाई आग्रह गरेको छ । चिनियाँ कम्पनी जिङ्येले सन् २०२० मा आर्थिक समस्यामा परेको ब्रिटिस स्टिल खरिद गरेको थियो । तर गत वर्ष कम्पनीको आर्थिक अवस्था झन् कमजोर बन्दै गएपछि बेलायती सरकारले हस्तक्षेप गर्दै यसको सञ्चालन नियन्त्रणमा लिएको थियो । जिङ्येले उत्तरी इङ्गल्यान्डको स्कन्थोर्पस्थित बेलायतको अन्तिम प्राथमिक इस्पात उत्पादन गर्ने कारखाना आर्थिक रूपमा सञ्चालनयोग्य नरहेको जनाएपछि यसले कारखाना बन्द हुने जोखिम बढाएको थियो ।

त्यसपछि बेलायत सरकारले अप्रिल २०२५ मा कम्पनीको नियन्त्रण आफ्नो हातमा लिएको थियो भने यस वर्ष मे महिनामा राष्ट्रियकरणसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको थियो । उक्त कानून बुधबारदेखि औपचारिक रूपमा लागू भएको हो । जिङ्येले प्लान्ट सञ्चालनका क्रममा गरेको लगानीबाट भएको क्षतिको क्षतिपूर्ति माग गर्दै गत जुनमा बेलायत सरकारसमक्ष दाबी पनि प्रस्तुत गरेको थियो ।

राष्ट्रियकरणसँगै सन् १९८८ पछि पहिलो पटक ब्रिटिस स्टिल पुनः सरकारी स्वामित्वमा फर्किएको छ । बेलायती सरकारले स्कन्थोर्प कारखाना बन्द भएमा देशको दीर्घकालीन आर्थिक तथा औद्योगिक सुरक्षा प्रभावित हुने निष्कर्ष निकाल्दै हस्तक्षेप गरेको जनाएको छ । बेलायतको एक समय विश्वप्रसिद्ध इस्पात उद्योग पछिल्ला वर्षहरूमा लगातार सङ्कुचित हुँदै गएको सन्दर्भमा सरकारले यस निर्णयलाई रणनीतिक कदमका रूपमा व्याख्या गरेको छ ।