पु.समाचार

चितवन र नवलपरासीमा ३ जनाको शव भेटियो

चितवन । चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अन्दाजी ३०र३५ वर्षका तराई मुलका व्यक्तिको जस्ता देखिने शवको सनाखत हुन सकेको छैन । कपडामा रगत लागेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले ति शव गएको शुक्रबार त्रिशुली नदीमा दुर्घटनाग्रस्त बसका यात्रुको हुनुसक्ने बताएका छन् ।
इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ति शव नारायणी नदीको दुईवटा भङ्गालोमा भेटिएका हुन् । शवमा किरा लाग्न थालेको छ । शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
यसैबिच, सोमबार नवलपरासीको त्रिवेणी ब्यारेजमा अर्को एक शव पनि फेला परेको छ । त्यो शव पनि त्यही दुर्घटनामा परि बेपत्ता भएका व्यक्तिको हो÷होइन भन्ने यकिन नभएको प्रहरी उपरीक्षक कुँवरले बताए ।
रौतहटबाट पोखरा जाँदै गरेको रात्रि बस यही शुक्रबार नारायगढ–मुग्लिङ सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा २२ जनाको ज्यान गएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए । दुर्घटनामा परि आफन्त हराएको भन्दै १३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । रासस