समाचार

लौ हेर्नुस्, बन्यो संसारकै सबैभन्दा ठूलो हवाईजहाज, यस्ता छन् यसका रोमाञ्चक तथ्यहरु

एजेन्सी– विश्वकै सबैभन्दा ठूलो विमान एयरल्यान्डर–१० को बुधबार उडान परीक्षण सफल भएको छ । विमान सेवाको केन्द्रीय कार्यालय ब्रिटेनको इङल्याण्डस्थित कार्डिग्टन एयरपोर्टमा सो विमानको सफल हवाई परीक्षण गरिएको हो ।

यो विशाल विमान वायूयान र हेलिकोप्टरहरुको मिश्रणबाट निर्माण गरिएको कम्पनीले जनाएको छ । ४४ मिटर चौडाई, २६ मिटर उचाई भएको यो विमान ९२ मिटर लामो रहेको छ ।

अन्य यात्रु विमानहरुभन्दा यो १५ मिटर लामो रहेको बताइएको छ । यो विमानले ४ हजार ८ सय ८० मीटरको उचाईमा उडान भर्न सक्छ भने यसको गति १ सय ४८ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । यसको डिजाइनमा केही हिलियम ग्यासको समेत प्रयोग गरिएको जनाइएको छ ।

ब्रिटेनको हाइब्रिड एयर विकल्स कम्पनीले निर्माण गरेको यो एयरल्यान्डर विमान अमेरिकी सेनाले निर्माण गरेको सुरक्षा एयरक्राफ्टबाट विकास गरिएको बताइएको छ । यसले १० टन सम्म सामान बोक्न सक्छ ।

हाइब्रिडले यो परियोजना सम्पन्न गरिरहँदा ब्रिटेन सरकारले सो कम्पनीलाई ३७ लाख डलर सहयोग गरेको जनाइएको छ । यो विमानको निर्माण गर्न सन् २०१२ मै अमेरिकी सेनाको तयारी हुँदाहँदै रक्षा बजेट कम भएकोले यसको काम रोकिएको थियो तर त्यसैको नक्कल गर्दै चार वर्षपछि संसारकै सबैभन्दा ठूलो विमान ब्रिटेन कम्पनीले बनाउन सफल भएको हो ।

यो विमान निर्माण गर्न जम्मा कति खर्च लाग्यो भन्ने तथ्यांक भने कम्पनीले बाहिर ल्याइसकेको छैन ।