पु.समाचार

पूर्वराष्ट्रपति यादवको निवेदन प्रधानमन्त्री कार्यालयमै गायब !

काठमाण्डौ । पूर्व राष्ट्रपति रामवरण यादवलाई प्रारम्भिक क्यान्सरको संकेत देखिएपछि उनले सरकारसँग सहयोग मागेका छन् । यादवले आफ्नो स्वास्थ्योपचाका लागि सरकारसँग ३ करोड रुपैयाँको माग राख्दै निवेदन दिएका हुन् ।

यादवले ३ करोडको लागि निवदेन दिएपनि सरकारले भने उनको स्वास्थ्य उपचाका लागि ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । पूर्व राष्ट्रपति यादव उपचारका लागि अमेरिका जाँदै छन्, मंगलबारको नयाँ पत्रिकामा समाचार लेखिएको छ । उनी छोरीसहित तीन सहयोगीका साथ अमेरिका जान लागेका हुन् ।

पूर्वराष्ट्रपति यादवले दिएको निवेदन प्रधानमन्त्री कार्यालयमा हराएको थियो। उपचारका लागि सरकारसँग रकम मागेको निवेदन हराएपछि उनको स्वकीय सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ताकेता गरेको थियो।

त्यसैले उनको उपचारबारे मन्त्रिपरिषद् बैठकमा गम्भीर रूपमा छलफल हुन सकेको थिएन । उनको उपचारमा ६० लाख रुपैयाँ दिने सरकारी निर्णय भने अझै गोप्य राखिएको छ।

सो निर्णयमा मुख्यसचिव डा। सोमलाल सुवेदीले हस्ताक्षर गर्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।