पर्यटन/संस्कृति

मटिहानीको झुलनोत्सव पर्व सम्पन्न

गौशाला । मिथिलाञ्चल लगायत महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइएको झुलनोत्सव पर्व आज सम्पन्न भएको छ । यस वर्ष भदौको तृतीयादेखि पुर्णिमासम्म मनाइएको सो पर्व गए राति भगवान् रामचन्द्र र माता जानकीलाई मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला झुलाइदै आज बिहान झुलनोत्सव पर्व सम्पन्न भएको हो । सो अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजासाथ भगवान् राम सीताको मुर्ति राखी भजन किर्तन गर्दै झुलाघरमा झुलाइएको थियो ।

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र बिहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ सम्पन्न भएको छ । साधु, सन्त, महात्मा र मिथिलावासीहरु मिलेर झुला घरमा राम सीताको मुर्ति राखी धार्मिक गीत र भजन किर्तनसाथ गए राति अन्तिम झुला रहेकोले रातभरि नै झुला झुलाइएको कुरा लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्णवले बताए ।

भगवान् राम सीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै प्रत्येक वर्ष पर्व सम्पन्न गरिन्छ । सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरियो । मेला हेर्न र भगवान् राम सीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुहरुको भिड लागेको थियो । साँस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला, लक्ष्मीनारायण लगायतका मूर्ति बाजागाजासाथ झुलाउने परम्परा छ ।

मिथिला क्षेत्रमा प्रत्येक वर्ष कृषि रोपाइँ सकिने वित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ भन्ने प्रत्येक मठ मन्दिरमा राति अबेरसम्म कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने, भजन कीर्तन गर्ने, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ ।