स्वास्थ्य

मानव मत्रमूत्रीय फोहरको व्यवस्थापनमा स्थानीय तह जिम्मेवार बन्नुपर्नेमा

ललितपुर । बढदो शहरीकरणसंगै चुनौतिको रुपमा देखा पर्दै आएको मानव मलमूत्रीय फोहरको व्यवस्थापनमा स्थानीय निकाय जिम्मेवार बन्नुपर्ने कुरामा राजधानीमा आयोजित कार्यशाला गोष्ठीका बक्ताहरुले जोड दिएका छन् ।

जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इन्जिनियरहरुको संस्था (सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स,सोफेन) र खानेपानी तथा ढल निकास विभागको तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाद्धारा संयुक्त रुपमा आयोजित मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनको संस्थागत र नियमनको राष्टिय ढाँचा सम्बन्धी कार्यशालामा विज्ञ वक्ताहरुले त्यस्तो विचार व्यक्त गरेका हुन् ।

कार्यशालामा समुद्घाटन मन्तव्य दिंदै बन तथा वातावरण मन्त्री शक्ति बस्नेतले शहरीकरण आधुनिकता र सभ्यताको प्रक्रिया भएकोले यससंगै आउने सामान्य समस्याहरुलाई समाधान गर्न सबै चनाखो हुनुपर्ने बताए । उनले नेपालमा शहरीकरणसंगै जनचेतनाको अभिबृद्धि पनि भएकोले जनताको सहभागितामा वातावरण संरक्षण, स्वच्छ खानेपानी र सरसफाई अभियान सफल पार्न सकिने विश्वास व्यक्त गरे । उनले अहिले विगतको तुलनामा जनता शिक्षित र सचेत भएको र सरसफाईका क्षेत्रमा विश्वमा नयाँ र व्यवहारिक प्रविधिहरु विकास भएकोले तिनको अबलम्बन गरि आफ्नो घर, टोल, नगर जिल्ला सफा र सुन्दर राख्न सबै नेपालीलाई उत्प्रेरित गर्न सकिने अवस्था रहेको बताए ।

मन्त्री बस्नेतले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान नेपालमा छिटो सफल भएको पनि बताए ।

कार्यक्रममा पूर्व मन्त्री ई।गणेश साहले जनताको मौलिक हकसंग जोडिएको स्वच्छ खानेपानी र सरसफाई सम्बन्धी ऐन अपरिहार्य भएको बताए । उनले सरसफाई स्वतन्त्रताभन्दा पनि बढी महत्वपूर्ण छ भन्ने महात्मा गान्धीको कथन उद्घृत गर्दै तीनै तहका सरकार र स्थानीय जनताको सहभागितामा आआफ्ना बस्तीलाई स्वच्छ र सुन्दर राख्न सकिने विश्वास ब्यक्त गरे ।

पूर्वमन्त्री साहले मानव मलमूत्रबाट गोवर ग्यास पनि उत्पादन पनि गर्न सकिने निश्चित विधिको प्रयोग गरि प्रशोधन गरिएको मल कृषिको रुपमा पनि उपयोग गर्न सकिने बताए ।

कार्यक्रममा राष्टिय सभाका सदस्य बिमला राई पौडेलले सरसफाईमा स्थानीय सरकार र स्थानीय जनसहभागिताको भूमिका बढी महत्वपूर्ण हुने बताए ।उनले सरसफाईको बारेमा चेतना जति आवश्यक छ, त्यसको आधारमा आचरणमा सुधार ल्याउन पनि त्यतिकै आवश्यक भएको बताए ।

गोष्ठिको उद्घाटन शत्रमा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु,एशिया वाटर काउन्सिलका संस्थापक बोर्ड सदस्य डा। विन्दनाथ लोहनी, तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाका प्रमुख हरिप्रसाद शर्माले पनि शहरी सरसफाई र मानव मलमूत्रीय फोहर व्यवस्थापनका बारेमा बोलेका थिए ।

कार्यक्रममा काठमाडौं विश्व विद्यालयका डिन डा. सुबोध शर्माले फोहरमैला व्यवस्थापनको मापदण्डलाई पालना गर्नुपर्ने बताए ।

सोफेनका अध्यक्ष ई।रामदीप शाहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सोफेनका उपाध्यक्ष डा। सन्जीव बिक्रम राणाले स्वागत मन्तव्य दिएका थिए ।

गोष्ठिको दोस्रो शत्रमा सोफेन अध्यक्ष ई।रामदीप साहले मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनको संस्थागत र नियमन ढाँचाका बारेमा, खानेपानी तथा ढल निकास विभागका ई। किरण दर्नालले मानव मल मूत्रीय फोहरमैला व्यवस्थापनको राष्टिय अभियानबाट प्राप्त शिक्षा र निश्कर्षहरुका बारेमा, तेस्रो साना शहर तथा सरसफाई आयोजनाका निर्देशक ई।रामचन्द्र साहले मानव मलमूत्रीय व्यवस्थापनका बारेका अनुभवका बारेमा र डा। चिरञ्जीवी भट्टराईले खानेपानी र सरसफाई सम्बन्धी राष्टिय र अन्तराष्टिय कानूनी प्रावधानका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको तेस्रो शत्रमा संघीय संसदका सांसद,राष्टिय योजना आयोगका सदस्य,खानेपानी तथा ढल निकास विभाग, वातावरण विभाग र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकहरुको सामूहिक छलफल (प्यानेल डिस्कसन) कार्यक्रम पनि आयोजना गरिएको थियो ।

गोष्ठिमा सहभागी नगरपालिका प्रमुख तथा उपप्रमुखहरुले मानव मलमूत्रीय फोहरको समुचित व्यवस्थापनका लागि संघीय सरकारले अनुदान रकम बढाउनुपर्ने, निजी क्षेत्रको सहभागिता बढाउने मोडेल विकसित गर्नुपर्ने, रसायनिक फोहरलाई अलग्गै निसृत गर्ने व्यवस्था हुनुपर्ने, औद्योगिक रसायन र मलमूत्रीय फोहर मैलाको प्रशोधन फरकफरक ढंगले गरिनुपर्ने राय प्रस्तुत गरेका थिए ।