अन्तर्राष्ट्रिय

गैर व्यवसायीक विषयबस्तु प्रसारण गरेकाले प्राईम टेलिभिजनको प्रसारणमा रोक

लुकासा । टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ । निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन् । गैर व्यवसायीक विषयबस्तु प्रसारण गरेकाले” सो टेलिभिजनको प्रसारणमा रोक लगाउनु परेको उनीहरुले उल्लेख गरेका छन् ।

सोमबारदेखि ३० दिनसम्म प्रसारण गर्न बन्देज लगाइएको प्राधिकरणको बोर्ड सचिव जोसेफिन मापोमाले जानकारी दिए । गलत, असन्तुलित, बनावटी सामाचार तथा अन्य सामग्रीहरु प्रसारण गरेर कानुनको उलंघन गरेको ठहर प्राधिकरणको बोर्डले गरेको उनले बताए । पत्रकारिताका आधारभूत आचारसंहिता पालना गर्न समेत नसकेकाले कारबाही स्वरुप सो टेलिभिजनको प्रसारण बन्द गराउनु परेको उनले पत्रकारहरुलाई भने ।

उनले यो टेलिभिजनको प्रसारण बन्द गराउनुमा कुनै राजनीतिक कारण नभई प्रसारण सम्वन्धी ऐन उलङ्घन नै कारण भएको दावी पनि गरे । सरकार पक्षीय पार्टी र सरकारको विरुद्धमा अनावश्यक र झुटो विवरणहरु पेश गरेको भन्दै सो टेलिभिजनका विरुद्धमा उजुरी परेको पनि उनले जानकारी दिए ।