काठमाडौं । पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको आज अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उहाँको निधन भएको हो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत हुनुहुन्थ्यो । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री हुनुभएको थियो । उहाँले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व गर्नुभएको थियो । विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्मा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो । यस्तै उहाँ पार्टीको तिनै महाधिवेशनबाट दुईपटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत भइसक्नुभएको थियो ।
शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको थियो । शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा र पाँच छोरी छन् ।
नेपाली काँग्रेस कार्यकर्तामात्र नभएर मुलुकको राजनीतिका लागि नै आदर्श पुरुष मान्न सकिने नेता तथा पूर्व मन्त्री आदरणीय पूर्ण कुमार शेर्माको निधनले एक होनाहार आदर्श ब्यक्तीत्व गुमाएको भन्दै काँग्रेस नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा श्रद्धान्जली ब्यक्त गरिरहेका छन् ।






