बाग्मती

एडिवी खानेपानी आयोजनामा चलखेल, फिनान्सीय अडिट र टेक्निकल अडिट गर्न माग

१८ बैशाख, धरान । धरानमा परीक्षणकालमा रहेको अरबौंको एडिवी खानेपानी आयोजनामा चलखेल भएको उपभोक्ताहरुले आरोप लगाएका छन् । उनीहरुले आयोजना ल्याउने चरण देखि र जिम्मा लिने चरणसम्म चलखेल भएको बताएका छन् ।

नेपाल खानेपानी संस्थान धरान शाखाका तत्कालीन प्रमुख दिपक श्रेष्ठलाई रातारात सरुवा गर्नु, धरान उपमहानगरपालिकामा कार्यकाल पूरा गरी गएका टिकादत्त राईलाई नै कार्यकारी अधिकृतमा पुनः ल्याउनु, सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति मार्फत आयोजनाको व्यापक जनविरोध हुंदासमेत मन्त्रालय, राजनीतिक दल, नागरिक समाज, पानी विशेषज्ञ तथा प्राविधकहरुले आयोजनाको पक्षमा वकालत गर्नु र हाल आएर आयोजनाले डि.पि.आर. बमोजिम खानेपानी उत्पादन र वितरण गर्न नसक्नु, र सन् २०३१ सम्मका लागि डिजाईन गरिएको आयोजनाको परीक्षणकालकै चरणमा दुईवटा डिप वेल थप्दा समेत लक्ष्य बमोजिम उत्पादन र वितरण हुन सक्ने अवस्था विद्यमान नरहंदा नरहंदै आयोजना जिम्मा लिइनुले आयोजनामा व्यापक चलखेल भएको प्रमाणित भएको उनीहरुले बताएका हुन् ।

आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले धरानका जनता तथा उपभोक्ताहरुले लगाएको आरोपलाई सिधै गलत भन्न नसकिने बताए । उनले आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर मात्र आयोजना जिम्मा लिने वा नलिने निर्णय गरिनुपर्ने बताए ।

रेलवे सिष्टममा २६ एल.पि.एस. (दैनिक २२ लाख ४६ हजार ४ सय लिटर) तथा पिण्डेश्वर सिष्टम र सुम्निमा सिष्टममा ९४ एल.पि.एस. (दैनिक ८१ लाख २१ हजार ६ सय लिटर) गरी जम्मा दैनिक १ करोड ३ लाख ६८ हजार लिटर पानी उत्पादन गरी दैनिक २४ सै घण्टा ७ मिटरको प्रेसरमा मिनरल वाटर जस्तो गुणस्तरीय पानी वितरण गर्ने आयोजनाको डिजाईन तथा डि.पि.आर. मा स्पष्ट उल्लेख गरिएको भएतापनि यथार्थमा औसत ६२ लाख लिटर पानी उत्पादन भईरहेको, दैनिक एवम् नियमित पानी वितरण नभएको र ट्याङ्करवाट समेत पानी वितरण गर्नुपरिरहेको अवस्था रहेको उनले बताए । हाल डिजाईन तथा डि.पि.आर. बाहेक पछि थपिंदै गरिएको दुईवटा वेलको पानी थप गरेर तथा अनुगमन समितिसंग कुनै समन्वय र सहकार्य नगरी आयोजनाको कम्जोरी ढाकछोप गर्न धरान उपमहानगरपालिका र धरान खानेपानी व्यवस्थापन बोर्ड उद्दत रहेको पाईएको उनले बताए ।

उनले फुस्रेस्थित वाटर ट्रिटमेन्ट तथा फिल्टर प्लान्टको पनि परीक्षण तथा अनुगमन गर्न आवश्यक देखिएकाले यसको परीक्षण वर्षायाम लागेपछि असार साउनमा मात्र गरिनुपर्ने समेत बताए ।