लुम्बिनी

बन्दाबन्दीमा आपराधिक घटनामा कमी

राजापुर,२६ वैशाख । बन्दाबन्दीका कारण बर्दिया जिल्लामा आपराधिक घटनामा कमी आएको छ । भारतसँग खुला सिमाना रहेको जिल्लाका सीमा क्षेत्र पनि पूर्णरुपमा बन्द हुनु र प्रहरीको सक्रियता रहनु जस्ता कारणले विगतका तुलनामा अपराधका घटनामा कमी आएको हो ।

बन्दाबन्दीमा तस्कर, लागुऔषध, चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । अत्यावश्यकबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएकाले सवारी दुर्घटना पनि शून्य रहेको जनाइएको छ ।

प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा आवागमनमा पूर्ण रोक लगाएको छ । बजार, गाउँका चोक, सडक तथा सार्वजनिक स्थानमा कडा जाँच र सर्वसाधारणलाई अनावश्यक रुपमा हिँडडुल गर्न रोक लगाएकाले मानिस आपराधिक कार्यमा संलग्न हुन नपाएको खड्काले जानकारी दिएका छन् ।

बन्दाबन्दीमा जिल्लामा दर्ता भएकामध्ये एक मुद्दा फछर्योट भएको तथा पाँच अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान मार्ने उद्योग एक तथा जबर्जस्ती करणी र लागुऔषधका दुईदुई मुद्दा दर्ता भएको र त्यसमा संलग्न आठ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताएका छन् ।

जिल्लाको भारतसँग सीमा जोडिएको ८३ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी उल्लेख्य मात्रामा परिचालन गरिएको छ ।