समाचार

स्वास्थ्यकर्मी काेराेना सङ्क्रमित भएपछि घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द

२ असार, नारायणपुर । घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ । स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३ नं वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । त्यस्तै वडा नं ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए ।

त्यसैगरी वडा नं २ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ । बुधबारदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का सङ्क्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए । घोराही –१७ का १७ र घोराही– १८ का दुई जना रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ ।