प्रदेश 1

उपकुलपति डा ज्ञानेन्द्र गिरिमा कोरोना संक्रमण पुष्टी

३० भदौ, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती कोरोना संक्रमित भएका छन् ।

सोमबार गरिएको पिसिआर रिपोर्टमा उपकुलपती डा. ज्ञानेन्द्र गिरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

संक्रमण पुष्टि भएपछि गिरीले आफूसँग सम्पर्कमा रहेका सबैजनालाई कोरोना चेक गर्न र सर्तकता अपनाउन अनुरोध समेत गरेका छन् । कोरोना पुष्टि भएपछि डा. गिरी कोभिड अस्पताल भर्ना नभइ प्रतिष्ठानको आफ्नै निवासको आइसोलेसनमा बसेका छन् ।

उनले प्रतिष्ठानको आधिकारिक फेसबुक पेज मार्फत आफू कोरोना संक्रमित भएको र निवासमा आइसोलेसन वार्डमा बसेको जानकारी गराएका छन् ।

हप्तादिनको बीचमा संक्रमित डा. गिरीसँग प्रतिष्ठानका अन्य पदाधिकारी, दर्जनौं चिकित्सक, धरानका जनप्रतिनिधि, पत्रकारलगायतको भेटघाट भएको बताईएको छ ।

डा. गिरी यहि भदौ २३ गते काठमाडौंमा केही दिन बसेर फर्किएका थिए । उनले प्रतिष्ठानको नियमित काम गर्ने क्रममा नै आफू संक्रमित हुन पुगेको बताएका छन् ।