३० भदौ, काठमाडौं । एक महिनामै तीन गुणले मूल्य वढेपछि भारत सरकारले प्याज निर्यात रोकेको छ । भारतले प्याज निर्यात रोकेसंगै नेपाली बजारमा भने प्याजको भाउ फेरी आकासिएको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार सोमबार सुकेको प्याज (भारतीय)को थोक मूल्य प्रतिकिलो ५९ देखि ६१ रुपैयाँ रहेकोमा बढेर मंगलबार भने ७४ देखि ७६ रुपैयाँसम्म कायम भएको छ ।
यस्तै तरकारी पसलेहरुले भने प्रतिकिलो ज्यापको मुल्य ८० रुपैयाँ रुपैयाँ वढी तोकेका छन् । दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढेको थियो । त्यसपछि आन्तरिक माग धान्न भन्दै भारतले सोमबारबाट प्याक निकासी रोकेको हो ।
भारत संसारको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता हो । नेपालसहित बंगलादेश, मलेसिया, श्रीलंकालगायत देश भारतीय प्याजमा निर्भर छन् । भारतमा थोक प्याजको हब भनेर चिनिने महाराष्ट्रको दक्षिणी सहर लासलगाउँमा प्याजको थोक मूल्य टनको ३० हजार भारु पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
दक्षिणी प्रान्तहरु कर्नाटका, आन्ध्र प्रदेशमा वर्षामा रोपिने प्याजमा असर परेको बताइएको छ । यस्तै अन्य प्रदेशमा फसल ढिलाइ भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले तत्कालै कार्यान्वयनमा ल्याउने गरी जारी गरेको आदेश सोमबारबाटै कार्यान्वयनमा आएपछि प्याज आयात शून्य भएको छ ।
जसका कारण चाडपर्वको मुखमै भान्साको प्रमुख सामाग्री अभाव हुने देखिएको छ । एक महिनाभित्रमा भारतबाट आयात फेरि सुरु नभए दसैंमा प्याजको चरम अभाव हुनेछ । दशैं तिहार जस्ता ठुला चाडपर्व नजिकिँदै गर्दा भारतले प्याज निर्यात बन्द गर्दा भाउ झनै महंगीने देखिएको छ ।





