२१ माघ, काठमाडौं । संसदीय सुनुवाई बिना नै संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुले शपथ लिने भएका छन् । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरुलाई शपथ खुवाउन लागिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएका प्रेमकुमार राई र मानवअधिकार आयोगको अध्यक्षमा सिफारिस भएका तपबहादुर मगरले बुधबार बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने तयारी छ । महिला आयोगको अध्यक्षमा सिफारिस कमला पराजुलीले शपथका लागि बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्न जानकारी आएको पुष्टि गरेकी छिन् ।
गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरेकी थिइन् । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाई जारी रहेका बेला सिफारिस भएका व्यक्तिहरुको सुनुवाई हुन सकेन ।
संघीय सांसदको कार्यसञ्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिस भएकाहरुको ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ । सोही अनुसार बुधबार शपथ हुन लागेको हो । तर सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका छन् ।
प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाइ समिति पनि विघटन भएको उल्लेख गर्दै यस्तो अवस्थामा संवैधानिक निकायमा नियुक्ति हुन नसक्ने दाबी सभामुखले गरेका हुन् । सभामुख सापकोटाले पुस ५ गते प्रतिनिधिसभा विघटनको सूचना प्राप्त हुनु भन्दा केही समयअघि संसद सचिवालयमा सुनुवाइका लागि दर्ता हुन आएको संवैधानिक परिषदको सक्कल फाइल नै फिर्ता गरेका हुन् केही दिन पहिले ।
संयुक्त सदन कार्य सञ्चालन नियमावलीअुनसार संसदले पत्र प्राप्त भएको ४५ दिनभित्र कुनै निर्णय नगरेमा स्वतः नियुक्ति हुनसक्ने प्रावधान छ ।





