२२ माघ, काठमाडौं । नेकपा नेतृ अष्टलक्ष्मी शाक्य सहित दाहाल-नेपालका कार्यकर्ता पक्राउ परेका छन् । उक्त समुहले आज घोषणा गरेको आमहड्ताललाई सफल बनाउन सडकमा उत्रिएका उनिहरुलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपा स्थायी कमिटि सदस्य नेतृ अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, अमृता थापा लगायत ८ जना नेताहरु रहेका छन् ।
संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा दाहाल- नेपाल समूहले आज आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरुलाई शपथ खुवाइएको थियो ।
आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आमहड्ताल घोषणा गरेको हो ।
दाहाल-नेपाल समुहले आमहड्तालको घोषणा गरेपछि सरकारले सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारेको छ । आज बिहानदेखी बन्द सफल पार्न सडकमा उत्रिएका उक्त समुहका दजर्नाै नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
अहिलेसम्म काठमाडौंबाट ६० जना नेता तथा कार्यकर्ता पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।





