विचार/ब्लग

कोरोनामा शिक्षकको पिँडाः न बैंक ब्यालेन्स छ, न अन्य कुनै आय श्रोत, कसरी बाँच्ने ?

कल्पना बिस्ट/ म हुँ एक शिक्षक, त्यो पनि निजी विद्यालयको शिक्षक, लगभग दुइ दशकदेखि यस पेसामा लागेर निरन्तर निष्ठा पुर्वक आफ्नो कार्य गर्दै आएकी छु । आफुले पढाएका विधार्थीहरु कोहि डाक्टर, कोहि पाइलट, कोहि ठुला-ठुला व्यापारी भएका छन्, राज्यका ठूला-ठूला तहमा पुगेका छन् र उनीहरुको सफलता हेरेर खुशी हुदै आफ्नो कार्यमा निरन्तरता दिएँ। शिक्षक पेसाको कमै धेरै नभए पनि कसैसंग हात नफैँलाई स्वाभिमानी पुर्वक जीवन बिताई रहेको थिएँ। शिक्षक पेसामा लागेका हामी शिक्षकहरु आफ्नो विधार्थीको स-साना प्रगतिहरु हेरेर पनि आफुलाई सफल ठान्छौँ। एउटा बच्चाको अक्षरमा सुधार आउदा, उनीहरुले केहि प्रतियोगितामा जित्दा पनि ठुलै युद्ध जिते जस्तो खुशी मान्ने पनि शिक्षक नै हुन्। शिक्षक मात्र एउटा यस्तो व्याक्ति हो जस्ले अर्काको बच्चाको भविष्यको चिन्ता गरेर रातको निन्द्रा उडाउछन्। यस्तै यस्तै गरि एउटा जीवनयापन भैरहेको हुन्छ अरुको जीवनमा ज्ञानको ज्योति छर्दै एउटा शिक्षक अगाडी बढ्दै हुन्छ। विधार्थीले गरेको स-साना कुरामा मख्ख हुन्छन्। विधार्थीले गुरुपुर्णिमाको दिन दिएको एउटा रातो डटपेन र फुलको गुच्छालाई आफ्नो ठुलो कमाइ ठान्छ। १५ वर्ष अगाडी कुनै बच्चाले हातले लेखेर बनेको कार्ड पनि ठुलो सम्पति जसरि आज सम्म पनि जोगाएर राख्छ र बेला बेलामा त्यसलाई हेर्दै मख्ख पर्छ शिक्षक। झन् कुनै विधार्थीले आफुलाई बेस्ट टिचर भन्यो भनि त स्वर्गमै पुगे जसरि खुशी हुन्छ। येसरी स-साना कुरामा खुशी हुने शिक्षकर्लाइ यो कोभिड-१९ को महामारीले नराम्रोसंग पछार्यो । हुन त सबैलाइ मारमा परेको छ यस महामारीले। यस्तो महामारीसंग जुद्धा-जुद्धै पनि विधार्थीहरुलाई ज्ञान छर्न पछाडी परेनन् शिक्षक । कहिले दुई लाइन टाइप पनि गर्न नजान्ने शिक्षकले आफुलाई त्यार गर्यो, अनलाइन कक्षा लिनको लागि, अनि अनलाइन मार्फत पनि कसरि आफ्ना विधार्थीलाई सर्वोत्कृष्ट शिक्षा दिन सकिन्छ भनेर सिक्न थाल्यो। कतिपय एउटा इमेल पठाउन नजान्ने शिक्षकले पनि अनलाइन कक्षा लिनको लागि आफुलाई सक्षम बनायो। एउटा गतिलो फोन किन्ने हैशियत नभएको शिक्षकले त्यहि बिधार्थी पढाउन ऋण गरेर ल्यापटप सम्म किन्यो। सारा विश्व महामरीमा जुधिरहेको बेला शिक्षक भने अनलाइन क्लास र बच्चाको असाइन्मेण्ट बनाउन लागि पर्यो। कतिपय शिक्षकलाई त कोरोना भन्दा पनि बढी संघर्ष पूर्ण थियो अनलाइन कक्षा। तर पनि हार नखाएर सफलतापुर्वक अनलाइन कक्षा संचलान गर्यो। र जब पारिश्रमिकको कुरा आयो अविभावकले भने बच्चा स्कुल नै गएको छैन किन पैसा तिर्ने अनि विद्यालयले भने, अविभाभाकले पुरा पैसा दिए पो पुरा तलव दिनु। शिक्षक न पर्यो सबैको कुरा बुझिदिने पर्यो। सोचिल्याउँदा दुवै पक्ष सहि नै थिए।

अविभावकको पनि आफ्नै पिडा थियो र बिद्यालयको पनि आफ्नै । तर म शिक्षकको पिंँडा कसले बुझिदिने पुरै तलब आउदा त महिना भरि खर्च पुराउन हम्मे-हम्मे हुने म आधा तलवमा खोइ कसरि पुर्याउनु । विद्यालय र अविभाबकको कुरा मैले बुझ्दा जस्तै मेरो कुरा पनि मेरो घरबेटीले बुझिदिएर आधामात्र भाडा लिएको भए, खाद्यान्न पसलले पनि बुझिदिएर आधा भाउमा सामान दिएको भए कस्तो हुन्थ्यो होला भनेर सोचिराखें। अरु त अरु शिक्षकले आफ्ना बच्चाबुची घरमा रहेका बुढाबुढी जो उनीहरुमा निर्भर छन्, उनीहरुलाई कसरि सम्झाउनु, यो महामारीमा सबैले पौस्टिक आहार खानुपर्छ तर तिमीहरु चाहि आधा पेट मात्र खाओ, किनकी तिमीहरु शिक्षकका सन्तान हौ भनेर। येस्तै येस्तै समस्याबीच अल्झिनु त छदैँछ। यो त भयो भोकसंगको लडाई तर केहि कारण बस रोगसंग लड्नु पर्यो भनि त फेरी छुट्टै पिँडा हुन्छ। न बैंक ब्यालेन्स छ, न अन्य कुनै आय श्रोत । रोग लाग्दा बेहोर्नु पर्ने अस्पतालका खर्च त झन् कल्पना पनि गर्न सकिदैन। यस्तै यस्तै कठिन समयलाई पार गर्दै बल्ल बल्ल बामे सर्दै अलिकति उभिएको मात्र क थियो, फेरी यो दोश्रो चरणको निशेधाज्ञा ठुलै बज्रपात भएको छ। फेरी पनि सामाजिक संजालका वालहरुमा देखिन थालेका छन् विद्यालयले शिक्षक्लाइ पाल्नु पर्छ, शिक्षकको जिम्मा कसले लिने, शिक्षकको तलबको विषय लिएर सबैले हात उठाउन थालेका छ। लाग्दै छ समाजलाइ बस्न योग्य बनाउन ज्ञानको ज्योति छर्ने शिक्षक आजयो समाजको बोझ भएको छ। यदि यस्तै हुने हो भने अरुको जिवनमा उज्यालो छर्ने शिक्षकको जीवन नै अन्धकार होला । तर एकपटक बिचार गरौं न त यदी शिक्षकको जीवन अन्धकार भयो भनिको यो देशको भबिस्य उज्वलल होला त ?