पु.समाचार

एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दीः महासचिव पोखरेल

१७ पौष, राँझा । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् ।

नेकपा (एमाले) बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरे । “जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन्”, महासचिव पोखरेलले भने, “एक प्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ, एक हिसाबले भन्दा हाम्रो पार्टीलाई एक्लो बनाउने प्रयास पनि भएको छ ।”

एमालेले देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गर्दा चौतर्फी आक्रमण गरी एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको उनले प्रष्ट पारे । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा बाँकेको नरैनापु्र गाउँपालिका क्षेत्रको शिक्षा, स्वास्थ्यलगायत समग्र विकासमा योजनाका साथ काम गरेको उल्लेख गरे।

कार्यक्रममा रामकुमार दीक्षितको नेतृत्वमा पार्टीमा आएका नेता तथा कार्यकर्तालाई उनले स्वागत गरे । सो अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज सूर्य ढकाल, सहइन्चार्ज मोहम्मद हारुन हलवाई र जिल्ला अध्यक्ष निरक गुरुङलगायतले बोलेका थिए ।