समाचार

काँग्रेस (वी.पी.) केन्द्रीय समिति बैठक: सुझाव माग


१८ चैत्र, काठमाडौं । स्थानीय निर्वाचनको विषयमा छलफल गर्न बिहिबार देखि सुरु भएको नेपाली काँग्रेस (वी.पी.) केन्द्रीय पदाधिकारी सहित भातृ शुभेच्छुक संघ संस्थाका अध्यक्ष र जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टीको बुद्विजिवी विभागले तयार पारेको पार्टीको घोषणा पत्रको मस्यौदा माथि छलफल गर्दै सुझाव माग गरेको छ । पार्टीले सभापति सुशीलमान शेरचनको संयोजकत्वमा बरिष्ठ उप-सभापतिद्वय झलकनाथ वाग्ले, गोविन्द प्रसाद शर्मा उप-सभापति पुष्पराज पराजुली, महामन्त्रीद्वय देवेन्द्र प्रकाश पौडेल, भक्तराज भुसाल र सह-महामन्त्री जगन्नाथ घिमिरे रहने संसदीय समिति गठन गरेको छ । पार्टीले निर्वाचन आयोगबाट बुधबार राजनीतिकदलहरुलाई जारी १७ बुँदे निर्देशनमा ६ नम्बर बुँदामा रहेको स्थानीय तहमा एक पदमा मात्र उम्मेदवार दिने दलले महिलाको व्यवस्था गर्नु पर्ने कुरा स्थानीय निर्वाचन ऐन २०७३ को दफा १७ को उप दफा ४ संग बाझिएकोले उक्त बुदामा आफ्नो पार्टीको गम्भीर ध्यानकर्षण भएको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराउदै थप प्रष्ट पार्न माग गरेको कार्यालय सचिव सुशीलराज वाग्लेले जानकारी दिए ।

बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सक्रियता पूर्वक भाग लिदै ठुला भनिने सतारुढ दल, प्रतिपक्षबाट स्थानीय तह र समग्र राज्य माथिको दोहन, भ्रष्ट्राचारको भण्डाफोर गर्दै जनताको घर-घरमा जाने जनाएको छ । साथै पार्टीले आफ्नो पार्टीले महान अभियानको सुरु गरेको भन्दै आम-नागरिकलाई साथ र सहयोग गर्न अपिल सहित करुवा चिन्हमा मतदान गर्न अनुरोध गरेको छ ।
पार्टीले संघियता, गणतन्त्र र धर्मनिरपेक्षता खारेजीलाई प्रमुखरुपमा प्रस्तुत गर्दै स्थानीय निर्वाचनमा जाने बताएको छ । आवश्यकता अनुसार विचार मिल्नेहरूसँग गठबन्धन गर्न पनि सक्ने बताएको छ । पार्टीले ४५ वटा जिल्ला निर्वाचन कार्यालयमा पार्टीले दल दर्ता गरेको छ ।