पर्यटन/संस्कृति

राष्ट्रसङ्घमा सद्‌गुरुको सम्बोधन्- तपाईंले जन्मिन बाँकी बच्चाको भोजन खोस्दै हुनुहुन्छ र यो अपराध हो !

२४ चैत, काठमाण्डौ । माटो जोगाऔँ अभियानको समर्थनमा जेनेभास्थित भारतको संयुक्त राष्ट्र मिशनमा चैत्र २२ गते आयोजित समारोहमा उत्सुक श्रोताहरूलाई सम्बोधन गर्दै, सद्‌गुरुले माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित गर्न आह्वान गरे र भने— “तपाईंहरूको आवाज कहाँ छ ? अब बोल्ने समय भएको छ“। माटो जोगाऔँ, यस धरतीको माटोलाई विनाश हुनबाट जोगाउनको निम्ति सद्‌गुरुद्वारा गत महिना शुरु गरिएको विश्वव्यापी अभियान हो ।

आफ्नो १०० दिने यात्राको क्रममा १६औँ दिनमा, वर्षा र ठण्डीमा कैयौँ घण्टाको चुनौतीपूर्ण यात्रापछि सद्‌गुरु रोमबाट जेनेभा पुगेका थिए ।

“मैले यसबारे विगत ३० वर्षदेखि बोलिरहेको छु । सबैले भनिरहेका छन् कि निकै सानदार, तर यो अघि नबढी मर्नेछ,” आफ्नो सम्बोधनको शुरुवातमा यो टिप्पणी गरेर हाँस्दै, उनले विश्व समुदायलाई माटो जोगाउनको लागि भावपूर्ण अपिल गर्दै भने कि हाम्रो जीवन र हामी वरपर रहेका बाँकी सम्पूर्ण जीवनहरूको आधार माटो नै हो । माटोको चमत्कारिक गुणबारे उल्लेख गर्दै उनले बताए, “यदि तपाईंले माटोमा मरेको कुरा हाल्नुभयो भनेपनि, त्यसबाट जीवन अङ्कुरित हुन्छ । यस्तो अर्को कुनै पदार्थ छैन, साथै पूरै ब्रह्माण्डमा हामीलाई थाहा भएसम्म यस्तो अर्को कुनै स्थान छैन ।”

संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ कि द्रुत गतिमा माटो खराब भइरहेको हुनाले यसबाट निकै भयानक खाद्य सङ्कट निम्तिन सक्छ, जसबाट अबको केही दशकमा पूरै विश्व निकै क्रुर द्वन्द्व र हिंसामा फस्न सक्छ ।

माटो जोगाऔँ अभियानको उद्देश्य विश्वभरिका नागरिकहरूलाई आफ्नो राष्ट्रमा माटोको विनाशलाई रोक्नेतर्फ आवाज उठाउनको लागि एकत्रित गर्नु हो । यो अनुमान गरिएको छ कि माटोको विनाशले विश्व स्तरमा अकल्पनीय उथलपुथलहरू निम्त्याउन सक्छ, जस्तै कि भोजन र पानीको अभाव, गृह युद्ध, जलवायु परिवर्तनको प्रतिकूल असर अनि संसारैभरि विशाल स्तरमा अनियन्त्रित स्थानान्तरण (बसाइँ सराइ) ।

यो चुनौतीलाई तत्काल सम्बोधन गर्नुपर्ने कुरामा जोड दिँदै सद्‌गुरुले भने, “विश्वभरि माटो खराब हुँदै गएको स्थितिलाई रोक्न र उल्टाउनको लागि नीति निर्माणको काम अहिल्यै हुनुपर्छ, न कि भोलि !”

लोकतन्त्रमा जनताहरूको आवाज महत्त्वपूर्ण हुने कुरामा जोड दिँदै उनले उल्लेख गरे कि कुनैपनि सरकार जनताको आज्ञा पालना गर्नको लागि चुनिएको हुन्छ । उनले थपे, “लोकतान्त्रिक राष्ट्रहरूमा दुईवटा कुराहरू शक्तिशाली हुन्छन् । एउटा तपाईंको भोट, अर्को तपाईंको भोइस अर्थात् आवाज । म सोध्न चाहन्छु, “तपाईंहरूको आवाज कहाँ छ ? आफ्नो निम्ति र पूरै विश्वको सरोकारको लागि तपाईंले अहिलेसम्म के कुरा बोल्नुभएको छ ? के तपाईंले कहिल्यै बोले ? अब बोल्ने समय भएको छ ! अहिलेको पिँढीको हातमा जुन साधन छ (मोबाइल), त्यसको सही प्रयोगले पूरै विश्व परिवर्तन गर्न सकिन्छ ।”

उनले भने कि, “जबसम्म नागरिकहरूले यो कुरा खुलेर स्पष्ट रूपमा व्यक्त गर्दैनन् कि उनीहरू आफ्ना नेता र नेतृत्वकर्ताहरूबाट राष्ट्रको दीर्घकालिन भलाइतर्फ लगानी भएको हेर्न चाहन्छन्, तबसम्म निर्वाचित सरकारहरूले केही गर्न सक्दैनन् । नागरिकहरूले बोलेका छैनन् । यी १०० दिनहरूमा, हामी चाहन्छौँ कि ३–४ अर्ब मानिसहरूले यसबारे बोलून् । तपाईंले मलाई समर्थन नगरेपनि हुन्छ । तर, हरेक दिन माटोको बारेमा केही बोल्नुहोस् ।”