प्रदेश 2

स्थानीय तह निर्वाचनका लागि पर्सामा काँग्रेस समिति गठन


२७ चैत, वीरगन्ज । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस पर्साले ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ र विभिन्न उपसमितिहरु गठन गरेको छ । काँग्रेस पर्सा जिल्ला समितिको बैठकबाट स्थानीय तह निर्वाचन केन्द्रित समितिहरु गठन गर्ने क्रममा कारवाहीको अधिकारसहितको अनुशासन समिति पनि गठन भएको छ ।
काँग्रेसको पर्सा जिल्ला समितिका सभापित सभापति जनार्दन सिंह क्षेत्रको अध्यक्षतामा बसेको बैठकले उनकै संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ गठन गरेको छ । यस समितिमा केन्द्रीय सदस्यहरु, सांसद तथा सांसदका उम्मेदवारहरु, पुर्व जिल्ला सभापतिहरु, जिल्ला समितिका पदाधिकारीहरु, केन्द्र तथा प्रदेशका महाधिवेशन प्रतिनिधि, क्षेत्री समितिका सभापतिहरु, प्रदेश सभा क्षेत्रका सभापतिहरु, महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका सभापतिहरु र भातृ संगठन तथा शुभेच्छु संस्थाका अध्यक्षहरुसमेत रहेका छन् ।
त्यस्तै पार्टीका जिल्ला प्रवक्ता रमेश पाण्डेको संयोजकत्वमा नेताहरु चन्द्रिका केशरवानी र प्रमचन्द्रप्रसाद कोइरी सदस्य रहनेगरी ३ सदस्यीय अनुसाशन उप समिति गठन गरिएको छ । निर्वाचनको समयमा पार्टी आबद्ध कोहीले नेपाली काँग्रेस अनि पार्टीका उम्मेदवारलाई असर पर्ने गतिविधि र अनुशासन विपरितका आचरण कारवाही अधिकारसहित विधान अनुसार अनुसाशन उप समिति गठन भएको काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए । बैठकले उपसभापति कुर्मीको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचारप्रसार उप समिति, जिल्ला सचिव इम्तियाज आलमको संयोजकत्वमा युवा तथा विद्यार्थी परिचालन उप समिति र शशीलता गिरीको सयोजकत्वमा महिला परिचालन उपसमिति गठन गरेको जिल्ला सचिव दिनेश चौधरीले बताए ।