गण्डकी प्रदेश

तीन तहबीचको सम्बन्ध मजबुत बनाउन सके मुलुकको समृद्धि : मुख्यमन्त्री पोखरेल


१ वैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र सङ्घ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् ।

नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको अपेक्षासमेत प्रदेश सरकारले गरेको उल्लेख गरेका छन् ।

प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रदेश सरकारको पहिलो सर्त भएको बताउँदै मुख्यमन्त्री पोखरेलले सङ्घीयताको अभ्याससँगै नागरिकका आवश्यकता र चाहनानुसारका क्षेत्रमा काम गर्न आफूहरू क्रियाशील रहेको बताए । “प्रदेश सरकारले प्रष्ट सोच र योजनाका साथ आर्थिक समृद्धिको लागि प्रयत्न गर्दै आएको छ”, मुख्यमन्त्री पोखरेलले सन्देशमा भनेका छन् ।

विसं २०७९ साल चुनावी वर्ष भएकाले निष्पक्ष निर्वाचनमा सहभागी भई मुलुकको समृद्धिका साथै प्रजातान्त्रिक प्रणालीको सुदृढीकरणका लागि योगदान पु¥याउन प्रदेशवासीमा अनुरोध गर्दै उनले नयाँ वर्षले प्रदेशमा दिगो शान्ति, सुदृढ प्रादेशिक एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।