प्रदेश 2

छुट्टाछुट्ट घटनामा दुई जनाको मृत्यु


१ वैशाख, कलैया । भरुवा बन्दुक पड्किर गएराति बारामा एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए । उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ता थापाले बताए। उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

त्यसैगरी आज बिहान स्कर्पियो आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईँ रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम लोक राजमार्ग सडकखण्डको आधाभार जङ्गलमा सिमराबाट हेटौँडातर्फ जाँदै गरेको बा१९च ४३७७ नंको स्कर्पियो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । अन्य १३ जनामध्ये एक जना गम्भीर घाइते छन् भने बाँकी सबै समान्य रहेको र उनीहरुको वीरगञ्ज, सिमराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।