समाचार

आचारसंहिता उल्लङ्घन गरेमा कारबाही गरिन्छ: आयुक्त भण्डारी


३ वैशाख, हेटौँडा । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तोकिएबमोजिमको हदैसम्मको कारबाही हुने बताएका छन् ।

निर्वाचन आयोगले आज हेटौँडामा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको बताए ।

आयुक्त भण्डारीले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखीकरण दिइसकेको उल्लेख गर्दै निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारमा भर नपर्न सबैसँग आग्रह गरे। “लोककतन्त्रको सुन्दर पक्ष निर्वाचन रहेकाले कुनै पनि हालतमा निर्वाचन हुन्छ”, उनले भने। आयुक्त भण्डारीले आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको छ, यसको उल्लङ्घन गर्ने जो सुकैलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नेपाली सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भव्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि यहाँका सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले स्थानीय तह निर्वाचनमा विगतमा कारबाही कम भएको देखिए पनि यसपटक यस्तो नहुने भन्दै आचारसंहिता पालना गर्न लगाउन पनि मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । सञ्चारमाध्यममा आएका समाचारलाई आयोगले सूचनाका रुपमा लिनेसमेत उनको भनाइ छ ।   

प्रेस काउन्सिलका सदस्य चिरन्जीवी मास्केले निर्वाचनको समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम, फेक समाचार, सूचना कसरी चिन्ने र प्रकाशन/प्रसारणमा रोक लगाउनाका साथै काउन्सिलबाट हुने कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनील खड्काले निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन र रिपोर्टिङका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बागमती प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल, आयोगका शाखा अधिकृत तीर्थराज चापागांई, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले स्थानीय तहको निर्वाचनलाई सबै मिलेर निष्पक्ष  र भव्य रुपमा सम्पन्न गराउनुपर्नेमा जोड दिए।