प्रदेश 2

तराई–मधेसमा दैनिक गर्मी बढ्यो

३१ असार, धनुषा । तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ ।

बिहान सबेरैदेखि साँझसम्म नै एकनाशले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको छ । बेलाबेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी कम हुन सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ अत्यधिक गर्मी हुने गरेको छ । चर्को घाम र अत्यधिक गर्मीका कारण मानिसलाई मध्याह्नको समयमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

दिनमा मुख्य बजारका सडक सुनसान हुने गरेको छ । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । दिनभरि सडक र सरकारी कार्यालय सुनसान रहने गरेको छ । अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको हो ।