बाग्मती

भरतपुरका दुई मुख्य सडकमा भूमिगत विद्युतीकरण

२३ साउन, चितवन । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम सातादेखि भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ । भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाईपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । भरतपुर महानगरलाई सुन्दर सहर बनाउन यो कार्य थप सहयोगी हुने विश्वास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार यही साउन ३० गतेदेखि विद्युतीकरणअन्तर्गत निर्माणको काम सुरु गर्न लागिएको हो ।

भूमिगत विद्युतीकरण गर्दा विभिन्न निकायबीच समन्वय आवश्यक पर्दछ । निरन्तर समन्वय र बैठक आयोजना गरिरहेको महानगरका प्रमुख दाहालले सबै निकायबीचमा समन्वय गराएर काम थाल्न लागिएको जानकारी दिए । यो परियोजना नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले हेर्दै आएको छ । 

दाहालका अनुसार निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई परेको छ । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्नेछ । परियोजनाका इञ्जिनीयर बिनोद सापकोटाका अनुसार अमेरिकी डलरमा बोलपत्र भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु दुई अर्ब ५० करोड हाराहारी हुन आउँछ । यो रकम भरतपुर र पोखरामा आधा–आधा खर्च हुनेछ ।

सापकोटाको भनाइमा महानगरको अगुवाइका कारण राजधानी बाहिर पहिलो पटक भरतपुरमा काम थाल्ने अवस्थामा पुगेको छ । अन्य ठाउँमा भन्दा यहाँ छिटो काम हुन लागेको हो । उनले भने, “विभिन्न निकायसँग समन्वय गरेर कामअघि बढाउन महानगरले अगुवाइ गरेका कारण काम छिटो सुरु गर्ने अवस्थामा हामी पुगेका छौँ ।”

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुलचोकदेखि केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडकमर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए।

सन् २०२२ जनवरीदेखि लागू हुनेगरी निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरी सम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रूपमा पावर ग्रिड कम्पनीले हरेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

महानगरका शहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समसया हुने गरेको छ । यससँगै दुई सडकमा पोल ढलेर हुने समस्या अन्त्य हुने छ । यी सडक हुँदै अन्य क्षेत्रमा तार जाने भएकाले यो जिल्लाभरका लागि उपयोगी परियोजना बन्नेछ । भरतपुरको सुन्दरतालाई पनि सहयोगी हुनेछ । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीले विद्युत्का कारण भोगेका समस्या धेरै कम हुने र सुन्दर बन्ने बताए । 

यो परियोजनामा हुने खर्चले सिङ्गो जिल्लामा विद्युतीकरण गर्न सकिने भए पनि यहाँको महत्वलाई प्राथमिकतामा राखेर ठूलो खर्च गरी महत्वपूर्ण परियोजना अघि सारिएको उनले बताए। नेपाल टेलिकमसँग समेत सहकार्य गरेर काम अघि बढाउन परियोजनालाई भनिएको अधिकारीको भनाइ छ । यससँगै निजी क्षेत्रका तारसमेत भूमिगत गर्न सकिने गरी आयोजनाले काम गर्न लागेको छ ।