प्रदेश 2

सामाजिक सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि

३० साउन, सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजअन्तर्गत सामाजिक सेवा एकाइ तथा ज्येष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

एकाइमार्फत मासिकरूपमा साढे एक सय र दैनिकरूपमा पाँच बिरामीले सेवा लिएको सो एकाइले जनाएको छ । एकाइका प्रमुख सूर्यकान्त झाले गत वर्ष आठ सय ४५ पुरुष र नौ सय ७२ महिला गरी एक हजार आठ सय १७ बिरामीले सेवा लिएको जानकारी दिए ।

यो अघिल्लो वर्षभन्दा एक हजार एक सय १६ बढी हो । आर्थिक वर्ष २०७७/०७८ मा तीन सय १८ पुरुष र तीन सय ८३ महिला गरी सात सय एकले सामाजिक सेवा लिएका थिए । यसमा चार सय १४ मधेसी, एक सय ५४ दलित, ७६ जनजाति, ३० ब्राह्मण क्षेत्री र २७ मुस्लिमले सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७८/२०७९ मा एक हजार ८८ गरिब, पाँच सय ४३ ज्येष्ठ नागरिक, ९७ जना लैङ्गिक हिंसा पीडित, २८ जना असहाय, ११ जना अपाङ्गता भएका व्यक्ति, दुई जना प्राकृतिक प्रकोपमा परेका व्यक्ति र अन्य ४८ जनाले सेवा लिएको सेवा एकाइको तथ्याङ्कले देखाएको छ । तीमध्ये परिचयपत्र वा सिफारिस पत्रसहितका आउने बिरामीको सङ्ख्या न्यून छ ।

ग्रामीण भेगबाट असहाय, अशक्त, गरिब, दलित, ज्येष्ठ नागरिक परिचयपत्र नलिई आउने गरेका कारण उनीहरूको उमेर, अवस्था हेरेर सेवा दिनुपरेको उनले जानकारी दिए । सेवा लिएका एक हजार आठ सय १७ मध्ये एक सय १५ ले मात्र परिचय पत्र वा सिफारिस लिएर आएको देखिएको छ ।

उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ तर टाढाबाट आशा लिएर आउने असहाय, गरिब, ज्येष्ठ नागरिकलाई उपचार नगरी फर्काउन गाह्रो परेकाले पहिलो पटकका लागि सेवा दिने गरेको र दोस्रो पटक आउँदा परिचयपत्र लिएर आउन भन्ने गरेको एकाइका उपप्रमुख धनेश्वर यादवले बताए ।

गत वर्षको साउनदेखि २०७९ असारसम्म सेवा लिनेमा चार सय ३९ दलित, तीन सय ६१ जनजाति, नौ सय १३ मधेसी, ५९ मुस्लिम, ४३ ब्राह्मण क्षेत्री र अन्य दुई जना रहेका छन् । यस्तै आकस्मिक बिरामी पाँच सय ७८, बहिरङ्ग बिरामी सात सय २२ र भर्ना भएर आएका बिरामी पाँच सय १७ रहेको प्रमुख झाले बताए। आर्थिक वर्षको साउन महिनामा सामाजिक सेवा लिने दुई सय ५० पुगिसकेको छ ।

गत वर्ष औषधिमा एक लाख ४ हजार आठ सय ८५, परीक्षणमा १२ लाख ६० हजार एक सय आठ तथा शय्या र रगतमा रु २० हजार छ सय ३९ गरी रु १३ लाख ८५ हजार छ सय ३२ लक्षित बिरामीको स्वास्थ्य सेवाबापत खर्च भएको छ । प्रत्येक बिरामीमा औसत रु सात सय ६२ खर्च भएको छ । आंशिक उपचार सहयोग पाउने तीन सय ८८ र पूर्ण उपचार सहयोग पाउने एक हजार चार सय २९ जना छन् ।

परीक्षणबापत खर्च भएको रु १२ लाख ६० हजार एक सय आठमध्ये प्रयोगशालामा रु १० लाख ३२ हजार, युएसजीमा रु ६९ हजार एक सय, सिटीस्क्यानमा रु ५३ हजार सात सय ३५, एक्सरेमा रु एक लाख ५ हजार दुई सय ७३ रहेको छ । यस्तै शय्याबापत रु १५ हजार ९९ र रगतबापत रु पाँच हजार पाँच सय ४० बिरामीले छुट पाएका छन् ।

लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपभोग अभिवृद्धि गर्न सरकारले आव ०६९/७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो एकाइ राख्ने निर्णय गरेकोमा राजविराजस्थित उक्त अस्पतालमा २०७५ चैत १२ गतेदेखि सेवा सुरु गरिएको हो ।