प्रदेश 2

पर्सा जिल्ला प्रशासन कार्यालयकोे बिहानी सेवा


१२ भदौ, वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह गर्न थालेको छ । यसअघि कार्यालय समयमै सबै सेवा प्रवाह हुँदा सेवाग्राहीको भिडभाड बढेर अव्यवस्थित भएको भन्दै उक्त कामका लागि बिहानी सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

प्रतिलिपि नागरिकताका सेवाग्राहीको सङ्ख्या बढेर समयमै प्रतिलिपि प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएपछि बिहानीको समय मिलाइएको उनको भनाइ थियो । अब सार्वजनिक बिदाको दिनबाहेक बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह हुनेछ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गत भदौ ९ गतेसम्म कार्यालयमा अनुसूची फाराम पेश गरेका तर प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेका सेवाग्राहीका लागि उक्त सेवा मिलाइएको हो । यो सेवा यही भदौ १६ गतेसम्म जारी रहने भए पनि सेवाग्राही बढ्दै गए विस्तार गर्न सकिने  जानकारी गराइएको छ ।

नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने सन्देश प्रवाह गर्न पर्साको  वीरगञ्जदेखि भारतको दिल्लीसम्म सुरु गरिएको पैदलयात्रा २२ दिनमा पूरा भएको छ । वीरगञ्जका युवा शेष मुन्नाले एक हजार ६० किलोमिटर पैदलयात्रा गत साउन २१ गते  शुभारम्भ गरेका थिए । 

वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी ३० वर्षीय मुन्नाले नेपाल र भारतको रोटीबेटीको सम्बन्धलाई अझै प्रगाढ बनाउन पैदलयात्रा शुभारम्भ गरेका थिए । बाइस दिनमा उक्त दूरी पार गर्दै भारतको दिल्लीस्थित इन्डिया गेट पुगेका मुन्नालाई दिल्लीका केही सामाजिक अभियानताले माला लगाएर स्वागत गरेका थिए ।