प्रदेश 2

वनमन्त्री यादवद्वारा गृहनगर वीरगञ्जमा मन्दिर र विवाह भवनको उद्घाटन

१८ भाद्र, वीरगञ्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सथानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन् ।

शनिबार गृहनगर वीरगञ्ज पुगेका वनमन्त्री यादवले वीरगञ्ज-१५ स्थित भिषवामा निर्मित शितलामाई मन्दिरको उद्घाटन गरेका हुन् ।

त्यसैगरी मन्त्री यादवले सोही वडाको भिषवा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गरेका छन् ।

निर्माण पश्चात मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुहरुलाई पूजाअर्चनामा सहजता हुने मन्त्री यादवको विश्वास छ । त्यसैगरी विवाह भवनले स्थानीयहरुलाई विवाह लगायतका धार्मिक, सांस्कृति र पारम्परिक कार्यक्रमहरु गर्न सहयोग उनले आश गरेका छन् ।

मन्त्री यादवको संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०/३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको उनका स्वकीय सचिव घनश्याम बाबु गुप्ताले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय), वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्वसभापति एवम् जनता समाजवादी पार्टीका नेता नेक महोम्मद मियाँ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवलगायत स्थानीय, बुद्धिजिवी, नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।