शिक्षा

शैक्षिक क्षेत्रमा फड्को मार्दै दुर्गालक्ष्मी

१० असोज, सहजपुर । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार अत्तरिया बजारबाट करिब एक किलोमिटरको दूरीमा छ दुर्गालक्ष्मी बहुमुखी क्याम्पस ।

अत्तरिया मात्र नभई गोदावरी नगरपालिकाकै एकमात्र क्याम्पसका रुपमा २०६३ सालमा स्थापना भएको उक्त क्याम्पसले शिक्षा क्षेत्रमा विकास गर्दै गएको छ ।

पहाडी क्षेत्रबाट तत्कालीन दुर्गालक्ष्मी उच्च माध्यमिक विद्यालयमा पढ्न आउने विद्यार्थीले क्याम्पसस्तरको पढाइका लागि धनगढी जानुपर्ने बाध्यता थियो । विद्यार्थीको बाध्यतालाई मध्यनजर गरी क्याम्पसको स्थापना गरिएको क्याम्पसका संस्थापक अध्यक्ष पुष्पराज जोशीले बताए ।

“अत्तरिया क्षेत्रमा क्याम्पसको आवश्यकता महसुस गरेर यहाँका विभिन्न शिक्षाप्रेमी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको बृहत् छलफलपश्चात् क्याम्पस बनाउन पहल सुरु भयो”,उनले भने, “क्याम्पसको प्रक्रिया अगाडि बढाउँदै जाँदा सबै कुराको ज्ञान भयो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्न सकिन्न कि भन्ने डर थियो, भाग्यबस सम्बन्धन पाउन सफल भयौँ ।” 

अत्तरियाबाट बिहान क्याम्पस पढ्न साइकलमा धनगढी जानुपर्ने विद्यार्थीको बाध्यता हटाउन र घरआँगनमै क्याम्पसस्तरको अध्यापन गर्ने वातावरण सिर्जना गर्न क्याम्पस स्थापनाको अवधारणा आएको उनले बताए । 

“उतिबेला यस क्षेत्रमा क्याम्पस थिएनन, धनगढीमा एउटा थियो । यहाँ उच्च शिक्षा हासिल गर्ने विद्यार्थी क्याम्पस पढ्न धनगढी पुग्नुपर्ने, त्यसमा एउटा मात्रै क्याम्पस भएकाले सिट पाउन मुस्किल । यहाँका  अभिभावकले महसुस गरेपछि क्याम्पस स्थापना थालिएको हो”, जोशीले भने । 

क्याम्पसको सुरुआती चरणमा तत्कालीन जिविसको रु पाँच लाख सहयोगमा बिएडको पढाई सुरु गरियो । “क्याम्पसको सम्बन्धन प्राप्त भइसकेपछि भवन अभावले थप समस्या सिर्जना भयो”, उनले भने, “दुर्गालक्ष्मी उच्च माविसँग भवन सहयोग मागेर पढाउन सुरु ग¥यौ ।” दुई वर्षसम्म बिएड मात्रै पढाइएको पछि प्रत्येक वर्षमा अन्य सङ्काय थपिदै गयो  । वि.सं २०७५ साउन १ गतेदेखि सुदूरपश्चिमको आङ्गिक क्याम्पसका रुपमा पनि यहाँ थप पठनपाठन भइरहेको क्याम्पस प्रमुख डम्बर पालले जानकारी दिए । 

“त्रिभुवन विश्वविद्यालय अन्र्तगत बिएड, बिबिएस र बिएका कक्षा सञ्चालन भए”, उनले भने, “अहिले सुप विश्वविद्यालयअन्तर्गत उक्त कक्षाका साथसाथै बिबिए, बिएडसिएसआइटी, एमबिएम, एमएडका कक्षा सञ्चालन भइरहेका छन् ।” 

सुदूरपश्चिम विश्वविद्यालयमा गइसकेपछि क्याम्पसमा सेमेस्टरका आधारमा पढाई भइरहेको छ । उनले भने, “ यसले विद्यार्थीको पढाइमा थप टेवा पु¥याएको छ ।” क्याम्पसको स्तरोन्नतिका लागि वनविज्ञान पढाउने तयारी थाले पनि सुदूरपश्चिम विश्वविद्यालयमा त्यसको कोर्ष नै नबनेकाले समस्या भएको छ । क्याम्पसमा हाल प्राविधिकतर्फ सिएसआइटी (कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी) विषयका पढाइ सञ्चालन गरिएको छ । देश आधुनिकतातिर लम्किएसँगै पढाइका क्षेत्रमा अनिवार्य जस्तै बनिसकेको र विद्यार्थीको पहिलो रोजाइमा रहेको सिएसआइटी विषयको अध्यापन थालनीका साथै क्याम्पसमा इञ्जिनीयरिङ विषयको अध्यापनका लागि प्रक्रिया थालेको क्याम्पस प्रमुख पालले बताए । 

क्याम्पसले पहिलेदेखि नै चलिआएका साधारण विषय मात्र नभई प्राविधिक विषयको पठनपाठन सुरु गरेर प्रदेशमा नै योग्य जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । 

वि.सं २०७० मा क्याम्पसद्वारा आयोजित महायज्ञपश्चात् हाल क्याम्पसको आफ्नै भवन छ । सुदूरपश्चिम माध्यमिक विद्यालयले आफ्नो मातहतको साढे पाँच बिघा जमिन क्याम्पसलाई सहयोग गरेपछि गाविस, नगरपालिका, जिविस, स्थानीयस्तरबाट चन्दा सङ्कलन गरी महायज्ञ लगाएर तथा सदस्यताबाट उठेको रकमबाट क्याम्पसको भवन निर्माण गरिएको क्याम्पस प्रमुख पालले बताए ।

सबैको सहयोगमा क्याम्पसको तीनतले भवन निर्माण भएको हो जसमा २७ कोठा छन् । सामाजिक विकास मन्त्रालयको सहयोगमा बनेको शौचालय तथा फर्निचरसहितको दुईतले पाँच कोठे नयाँ भवन छ । गोदावरी नगरपालिकाको सहयोगमा बनेको तीन तले भवनमा सुविधा सम्पन्न शौचालय छ ।

हाल क्याम्पसमा सुदूरपश्चिम विश्वविद्यालयको रु पौने दुई करोड लगानीमा आधुनिक ई–लाइब्रेरी र प्रशासनिक भवन निर्माणको सुरुआती चरणमा छ । उक्त संरचना निर्माणका लागि नाट्यश्वरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । त्यतिमात्रै नभई क्याम्पसमा सुदूरपश्चिम प्रदेश सरकारबाट रु ३८ लाखको लगानीमा चार कोठे भवन निर्माणका लागि केही दिनभित्रै सम्झौता प्रक्रिया सुरु भइरहेको पालले बताए । क्याम्पसमा हाल एक हजार नौ सयभन्दा बढी विद्यार्थी छन् । प्रत्येक वर्ष क्याम्पसमा विद्यार्थीको चाप बढ्दै गइरहेको क्याम्पस प्रमुख पालले बताए ।