प्रदेश 1

सुनसरी १: मुक्साहाङलाई कांग्रेस र अशोकलाई एमालेको असहयोग हुने डर, मनोज मेन्याङ्बोलाई फाइदा ?

सुबिन विश्वकर्मा (चक्रघट्टी) । सुनसरी १ लाई कम्युनिस्टहरू आफ्नो पकटक्षेत्र दाबी गर्दछन् । धरान उपमहानगरका २०, बराहक्षेत्र नगरका ५ र रामधुनी नगरपालिकाका २ वटा वडा सुनसरी १ मा पर्दछन् ।

पटकपटक कम्युनिस्टहरूले जित्दै आएको यस् क्षेत्रमा अघिल्लो प्रतिनिधिसभामा समेत बाम गठबन्धनका तर्फबाट उमेदवार बनेका एमाले उमेदवार जयकुमार राईले बाजि मारे । सुनसरीका अन्य ३ क्षेत्रमा जित निकालेको नेपाली कांग्रेसले भने यस् क्षेत्रमा तत्कालीन संघीय समाजवादीका नेता अशोक राईलाई समर्थन गरेको थियो ।
गत स्थानीयतह निर्वाचनमा स्वतन्त्र उमेदवार हर्कराज राई (साम्पाङ) धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएपछि भने यतिबेला यस् क्षेत्रलाई निकै चासोका साथ हेरिइएको छ ।

निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार यहाँ ११ जनाको स्वतन्त्र उम्मेद्बारी रहेको छ । विभिन्न स्वतन्त्र उमेदवारहरूले आफूहरूलाई हर्कराज साम्पाङको सहयोग भएको दाबी गरेपनि मेयर साम्पाङले भने औपचारिक रूपमा कसैलाई समर्थन गरेको देखिँदैन । उनले आफ्नो नाम प्रयोग गरेर मत नमाग्न पनि फेसबुकमाफर्त चेतावनी दिइसकेका छन् । यद्यपि मेयर साम्पाङलाई स्वतन्त्र उमेदवारदेखि दलहरूसम्म समेत फकाउनमा लागि परिरहेको बुझिन्छ । हर्क साम्पाङले समर्थन गरेपछि मतको अंकगणितमा फरक आउने भएपनि मेयर साम्पाङको मौनतासँगै यतिबेला सुनसरी १ मा दलहरूकै मूख्य प्रतिस्पर्धा हुनेमा पक्कापक्की छ ।

अहिलेसम्मको परिस्थितिलाई नियाल्दैगर्दा पाँच दलिय सत्ता गठबन्धनबाट साझा उमेदवार बनेका माओवादी केन्द्रका नेता मुक्सामहाङ मेन्याङ्बो, एमाले र जसपाको गठजोडबाट उमेदवार बनेका जसपा केन्द्रिय परिषद अध्यक्ष अशोककुमार राई र एमालेबाट विद्रोह गरि बाघी उम्मेद्बारी दिएका मनोजकुमार मेन्याङ्बो चुनावी मूख्य प्रतिस्पर्धामा रहने यस् क्षेत्रका मतदाताहरूको आंकलन रहेको छ । यसैबीचमा दलका कार्यकर्ताहरूमा भने आफ्ना उमेदवारहरूलाई विश्वास गरि नसकेको अबस्था देखिन्छ । सामान्य सर्वसाधारणले गठबन्धनको अन्तर्य नबुझ्नु, कार्यकर्ताहरूले आफ्नो दललाई गठबन्धन भागमा नपर्नु र असन्तुष्टी पैदा हुनु उमेदवारहरूका लागि चुनौती बनिरहेको छ ।

नेकपा एमालेकातर्फबाट जयकुमार राईलाई टिकट सिफारिसका लागि सर्वसम्मत नाम गएको थियो । पछि अकास्मत जसपा पाँच दलिय गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि सुनसरी १ मा एमालेले अशोककुमार राईलाई समर्थन गर्नुपर्ने भएको हो । तत्कालीन समयमा अशोककुमार राईलाई स्विकार गर्न यहाँका कार्यकर्ताहरू तयार नभइरहेको सामाजिक सञ्जालमा छरपस्ट बिचारहरूले प्रमाणित गरेको थियो । फलस्वरूप एमालेकै भित्री सहयोगमा मनोजकुमार मेन्याङ्बोले उम्मेद्बारी दिएको भन्ने चर्चा समेत भयो । यद्यपि अहिले मनोजलाई एमालेले पार्टीबाट निष्कासित गरिसकेको छ । उता पटकपटक दुईवटा निर्वाचनमा आफ्नो दललाई भोट हाल्न नपाएको भन्दै कांग्रेसका कार्यकर्तामा समेत रुष्टता देखिन्छ । यद्यपि कांग्रेसले भने गठबन्धनका उमेदवारलाई असहयोग गरिरहेको भन्ने हल्ला सत्य नभएको बताएको छ । आफूहरूले प्रदेशसभा तथा प्रतिनिधिसभा दुबैतर्फ गठबन्धनका साझा उमेदवारहरूलाई सहयोग गर्दै आएको १ (ख) का कार्यवाहक सभापति अनिल मगरले बताए ।

प्रतिनिधिसभामा एमालेका तर्फबाट बाघी उमेदवार मनोजकुमार मेन्याङ्बो हुनु र प्रदेशसभातर्फ नेपाली कांग्रेसका बाघी उमेदवार रोहित सुब्बा (१’ख’) हुनुले पनि यतिबेला एकअर्काको गठबन्धनलाई असहयोग हुने शंका उपशंका नेताहरूमा देखिएको हो । अर्कोतर्फ तल्लो तहका कार्यकर्ताहरूको सामाजिक सञ्जालको गतिविधिले समेत असन्तुष्टी तथा असहयोगलाई पुष्टि गर्दछ ।
एमालेका पूर्व जिल्ला सदस्य पहलमान बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, सुनसरी जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर १ को पहिचान, स्वतन्त्र उमेदवार मनोजकुमार मेन्याङ्बोको चुनाव चिन्ह खरायोमा मतदान ।

यसमानेमा अशोक राई एमालेको पूर्ण भरोसामा छैनन् भने कांग्रेसदेखि मुक्सामहाङ पनि उस्तो विश्वासमा नरहेको उनीहरू निकटहरू बताउँछन् । यद्यपि उमेदवारद्वय राई र मेन्याङ्बोले भने आफूहरू सम्बन्धित गठबन्धनसँग विश्वस्त रहेको जिकिर गर्दछन् । तर केही कार्यकर्ताहरूमा भने असन्तुष्टी रहेको र उनीहरू  ‘कन्भिन्स’ हुँदै गरेको दुबै उमेदवारले दाबी गरेका छन् ।
पाँच दलीय गठबन्धनका मुक्सामहाङ मेन्याङ्बोले सबै दलको सहयोग रहेको बताएका छन् । सुर्यखबरसँग उनले भने, गठबन्धन राष्ट्रिय आवश्यकता हो भन्ने सत्यलाई यहाँका सबै नेता तथा कार्यकर्ताले बुझेको हुँदा असहयोग हुन्छ भन्ने मलाई लाग्दैन ।
त्यस्तै, एमाले( जसपाका उमेदवार अशोक राईले भने एमाले देशकै उत्कृष्ट अनुशासित दल भएकाले असहयोगको सवालै नरहने बताए । आफूले यस् क्षेत्रका एमाले नेता तथा कार्यकर्तालाई अन्तरहृदयबाट बुझेको हुनाले उनीहरूको गठबन्धनलाई पूर्ण सहयोग हुने उनको विश्वास छ । सुरुका दिनहरूमा केही साथीहरू असन्तुष्ट हुनु स्वाभाविक भएपनि
अहिलेको वर्तमान परिपेक्ष्यमा सबै कार्यकर्ताहरू एकजुट भएर चुनावी अभियानमा होमिएका छन्, उनले भनें । मनोज मेन्याङ्बोको बाघी उम्मेद्बारीमा उनले थपे, लोकतन्त्रमा सबैले आफ्नो विवेक प्रयोग गर्दै उमेदवार बन्न पाउने कुरा नौलो रहेन तर एमालेका कार्यकर्ताले अशोक राईलाई सहयोग गर्नेमा मेरो विश्वास छ ।

यता दुबै गठबन्धनका तर्फबाट आफ्ना उमेदवारहरूलाई उस्तो सहयोग नगरिरहेको, गठबन्धनबारे असन्तुष्टी र अन्योल छाइरहेको अबस्थामा एमालेका तर्फबाट बाघी उमेदवार बनेका मनोज मेन्याङ्बोको माहोल बन्दै गरेको स्थानीय बताउँछन् । मनोज स्वयम् पनि सुनसरी १ का जनताहरू आफूलाई मत हाल्न आतुर रहेको बताउँछन् । उनी भन्छन्, धरानको विकास र समृद्विमा मेरो भूमिका यहाँका जनताहरूलाई अबगतै छ, त्यसैले पनि जनता मप्रति उत्साहित भएको दृश्य हामी सबैले देखिरहेकै छौ ।