प्रदेश 1

पार्टीमा आन्तरिक समस्या छैन् : डाक्टर शर्मा

२० कात्तिक , बेलबारी । मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन् ।

आज पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए । उनले भने – पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन । पार्टीमा योगदान दिएका, लामो समय सम्म जेल नेल भोगेर काम गरेका सम्पूर्ण अग्रजहरू प्रति उनले आदर भाव प्रकट गर्दै भने – पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्धा हुन्छ । कोही हार्छन, कोही जित्छन् । हामी कहाँ पनि त्यही भयो । तर, हार्दैमा अवसर सकिने र जित्दैमा सबै अवसर उसैले पाउने होइन । डाक्टर शर्माले आफू निर्वाचनको मैदानमा आएकै दिन सबैसँग कान समाएर माफि मागेको संस्मरण गर्दै भने – अझै पनि साथीहरूसँग संवादको ढोका बन्द भएको छैन ।
मिडियामा आफू बिरुद्ध आएका समाचारको कुनै टिकाटिप्पणी नगर्ने बताउँदै उनले थपे – मैले सयौं विद्यार्थीलाई निशुल्क पढाएँ । डाक्टर, स्वास्थ्य प्राविधिक बनाएँ । मृत्युसँग संघर्ष गरिरहेकाहरूलाई एक रुपियाँ नलिई उपचार गराएँ । विरामीको कुरुवालाई समेत खान दिएर उपचारमा सहयोग गरें । मैले न बिरामीलाई पार्टी सोंधें ? न कुन चिन्हमा मत हाल्छौ भनेर नै सोधें । मोरङका गाउँ गाउँमा एम्बुलेन्स पुर्याएँ । स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा अल्पसंख्यक गरिव र सीमान्तकृत वर्गका सन्थाल, मुसहर, डोम, बातरको पहुँच पुर्याएको छु । तराईका हुन वा हिमाल र पहाडका दलित समूदायका विपन्न विद्यार्थीहरूलाई पूर्ण छात्रवृतिमा पढाइरहेको छु । यि सबै सामाजिक गतिविधिको समाचार किन आउँदैन ? पूर्वाग्रही भएर लेखेको समाचार र पत्रकारिता लामो समयसम्म नटिक्ने उनको भनाई छ । शर्माले केही गर्न नसक्नेहरूले लगाउने आरोपका पछि लाग्नुको अर्थ नरहेको बताए ।