लुम्बिनी

भैलोको रकमले गाउँमा उज्यालो

२१ कात्तिक, खजुरा । बाँके जिल्ला खजुरा गाउँपालिका–३ स्थित न्यू बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभर बत्ती बालेको छ ।

क्लबको अगुवाइमा खेलिएको देउसी भैलोबाट सङ्कलित रकमले गाउँका बाटोको पोलमा बत्ती जडान गरिएको हो ।

रातको समयमा अन्धकार हुने खजुरा–३ को ‘बी’ गाउँमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावत गर्न सहज भएको स्थानीवासीले बताए । स्थानीय नारायण थापाका अनुसार रमाइलोका लागि खेलिएको भैलीको रकमबाट सबैलाई सुविधा पुग्ने गरी क्लबले बत्ती जडान गर्दा रकमको सदुपयोग हुनाका साथै सामाजिक सेवाको भावना पनि अभिवृद्धि भएको छ ।

खेलकुदसँगै गाउँघरको सरसफाइ र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएकामा गाउँमा रातको समयमा हिँड्डुल गर्दा समस्या भएपछि बत्ती बाल्नैका लागि भैली कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरज सिंह ठकुरीले बताए । बत्ती जडानमा रु ७५ हजारभन्दा बढी खर्च भएको क्लबले जनाएको छ ।