साहित्य

चटकेको पुतली

डा भागवत आचार्य कविता

जब जब काम नलाग्ने हुन्छन् टालाहरु,
र पुग्छन् रछ्यानतिर फाल्नुपर्ने अवस्थामा,
तिनलाई बटुलेर बनाउँछ कुसुलेले
देख्नमा आकर्षक पुतली ।
आखिर पुतली पुतली नै त हो
चटकेको पुतली
बच्चालाई भुल्याउन काम लाग्छ
असन्तुष्टलाई फुल्याउन काम लाग्छ
जीविका चलाउन काम लाग्छ
चटकेको पुतलीले भीड जम्मा गर्न सक्छ
हातका औंला घुसाएर नचाउँन
र सोझा सादालाई फसाउन पनि काम लाग्छ चटकेको पुतली ।
यथार्थमा
चटकेको पुतली आफैँ चल्दैन
चटकेको पुतलीमा प्राण हुँदैन
सार र त्राण हुँदैन
केवल भुलभुलैया रच्दै
कमाइ र खाइ–जीविका गर्न
शक्ति हत्याएर सत्तामा जान
‘देशभित्र र बाहिर’ का चाहना पुर्याइदिन
अदृश्य इसारामा चलाइन्छन्
चटकेका पुतलीहरु ।
जब सत्तामा पुग्छ चटकेको पुतली
जाग्छ टालाटुलीमा शक्तिको मात,
ब्युँझन्छन् अदृश्य महत्त्वाकाङ्क्षा,
र सत्ताको शिरमा बसेर तीर चलाउन
तँछाडमछाड गर्न थाल्छन्
फरक रङ्ग र ढङ्गका टालाहरू
र त्यही पुतली बन्छ अस्थिरताको कारक,
शक्ति दुरुपयोग र देशघातक ।
के तपाईं सावधान हुनुहुन्छ ?
टालाटुली गठबन्धन गरी बनाएको पुतली लिएर
गोयबल्स शैलीमा
तपाईंसमक्ष कतिको आउँदैछन् ?
इतिहासमा असफल चटकेहरू ।