प्रदेश 1

सुनसरीमा ६५ प्रतिशत मत खस्यो, समानुपातिकमा रबि लामिछानेको ‘घन्टी’ बज्ने संकेत

४ मंसिर, सुनसरी । आज बिहान ७ देखि साझ ५ बजेसम्म सञ्चालित प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सुनसरी जिल्लामा खासै उत्साहजनक मत नखसेको बुझिएको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रका करिव ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय सुनसरीले जनाएको हो ।
जिल्ला निर्वाचन कार्यलय सुनसरीका अनुसार जिल्लाका चारवटा निर्वाचन क्षेत्रमै करीब ६५ प्रतिशत मत खसेको हो । निर्वाचनमा जिल्लाभर खसेको मतको विवरण प्राप्त भइनसकेपनि ६५ प्रतिशत मत खसेको अनुमान प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका छन् ।
मतदानको संख्या आउन ढिला हुने यादवको भनाई थियो । जिल्लाका सबै मतदान केन्द्रबाट मतपत्र आइसकेपछि आज राती नै सर्वदलिय बैठक बसेर मतगणना शुरु हुने प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
प्रारम्भिक जानकारी अनुसार सुनसरी क्षेत्र नं १ मा ५६ प्रतिशत, सुनसरी २ मा ६० प्रतिशत, सुनसरी ३ मा ६५ प्रतिशत र सुनसरी ४ मा ६४ प्रतिशत मत खसेको अनुमान गरिएको छ । जिल्लामा ५ लाख ४४ हजार मतदाता छन् ।
मतपेटिका संकलन भइसकेपछि सुनसरी १ को मतगणना धरानस्थित सभागृहमासुनसरी २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुुनसरी ३ को दुहबी कभर्डहलमा र सुनसरी ४ को भगवती मावि इनरुवामा मतगणना हुने जिल्ला निर्वाचन कार्यलय सुनसरीले बताएको छ ।
अर्कोतर्फ देशका अन्य जिल्लाझै सुनसरीमा पनि मतदाताहरुले कसले कहाँ मतदान गरे भन्नेबारे आम चासो रहेको छ । सुनसरीमा मूख्यतः सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबिचनै प्रतिस्पर्धा हुने आकंलन गरिँदै आइएको छ । सुनसरीबाटै देशकै हेबी वेट नेताहरू पनि चुनाव लडिरहेका छन् । जसमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सूचना, सञ्चार तथा प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, पुर्व उपप्रधानमन्त्रीमन्त्री तथा कांग्रेसका पुर्व उपसभापति विजयकुमार गच्छदार सुनसरी ३ र जसपा नेपालका केन्द्रीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट चुनाव लडेका छन् । प्रत्यक्षमा मूख्य दुई गठबन्धनबिचमा नै प्रतिस्पर्धा हुने भएपनि सुनसरीबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक मत भने उल्लेख्य प्राप्त हुने यहाँका स्थानीय बताउँछन् । जानकारहरूका अनुसार रवि लामिछाने नेतृत्वको दल रास्वपालाई सुनसरीबाट अनपेक्षित मत खसेको बुझिएको हो ।
नेपाली काँग्रेसले यसअघि तीन क्षेत्रमा बिजय हाँशिल गरेको सुनसरीमा यसपटकको परिणाम आउन भने केही दिन लाग्नेछ । चार प्रतिनिधि सभा र ८ प्रदेश सभा निर्बाचनको मतगणनाको परिणाम सम्पन्न हुन केही दिन ला लाग्ने निर्बाचन कार्यालयले बताएको छ ।