प्रदेश 1

प्रेस स्वतन्त्राविपरीत पक्राउ गरिएको भन्दै पत्रकार राईलाई रिहा गर्न महासँघको माग

१२ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार गजेन्द्र राईलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । महासङ्घ, उदयपुर शाखाका सदस्य तथा रेडियो नेपालका जिल्ला संवाददाता एवं निगरानी पोष्ट अनलाइनका सञ्चालक राईलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको घटना प्रेस स्वतन्त्राविपरीतको काम भएको भन्दै रिहा गर्नुपर्ने माग गरेको हो ।

उदयपुर शाखाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रिपोर्टिङको क्रममा रहेका पत्रकार राईलाई यही मङ्सिर १० गते प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकबाट पक्राउ गरेको थियो । समाजको विकृति, विसङ्गतिसम्बन्धी रिर्पोटिङ गर्दै आएका थिए ।

“कुनै पनि विषयमा सम्प्रेषित भएका समाचारप्रति चित्त नुबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाएइको यो घटना प्रेस स्वतन्त्रा विपरीतको काम हो”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।