समाचार

प्रधानमन्त्री प्रचण्ड, नेपाल र यादवबीच भेट, प्रचण्ड भन्छन् सकारात्मक कुराकानी भयो

२४ पौस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको भेटमा समर्थनसहित सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री दाहालले दुवै अध्यक्षसँग सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।