समाचार

रास्वपा खारेजको माग गर्ने अधिकार कसैलाई छैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने बताएको छ ।

रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सोही सन्दर्भमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने, ‘राजनीतिक दल दर्ता खारेजीको विषय छ, त्यसलाई कानुन बमोजिम टुंग्याउनुपर्दछ ।’

आयुक्त थपलियाले राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत बताए ।

‘राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस् यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिंदैन’ उनले भने, ‘यदि त्यो हुँदो हो त क भन्ने पार्टी खारेज गरिपाउँ भनेर ख भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि । त्यसकारण त्यस्तो परिकल्पना गरिएन ।’