समाचार

गणपुरक संख्याको समस्याले हैरान संसद

२१ चैत, काठमाडौं । ‘हाटा’ प्रवृति अर्थात हाजीर गरेर टाप कस्ने । प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने तर हाजीर गर्दै टाप कस्ने सांसदहरुलाई ब्यङ्ग्य गर्न नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रयोग गरेको शब्द हो – हाटा प्रबृति ।
चैत १५ गते प्रतिनिधिसभाको बैठक चलिरहेको थियो । जहाँ प्रतिपक्षी दलका सांसदहरुले मन्त्री खोजे । सत्ता पक्षका सांसदहरुले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुको खोजी गरे । तर, कांग्रेसका सांसद खतिवडाले पुरै सांसदहरुको उपस्थितिको खोजी गरे ।
त्यसबेला प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी बेन्चमा अगाडिका रो खाली थिए । जहाँ शीर्ष नेताहरुको सिट व्यवस्थापन गरिएको हुन्छ ।
सांसद खतिवडाले संसद बैठकमै यो दृश्यको ब्याख्या गरे ‘…प्रधानमन्त्री विशेष कामले हुनुहुन्न होला । प्रतिपक्षी दलको त पहिलो, दोस्रो, तेस्रो र चौथो छाडेर पाचौं रो मा मात्रै माननीय सदस्य देखेको छु । अन्त (सत्तापक्षीको बेन्च) मा पनि पहिलो र दोस्रो रो मा माननीय सदस्यहरु देखेको छैन् ।’
बैठकको प्रारम्भमा सांसदहरुको बाक्लो उपस्थिति थियो । मध्यतिर पुग्दा बैठकमा धेरै कुर्सी खाली भए पछि सांसद खतिवडाले घुमाउरो शैलीमा सांसदहरु आजीर गरेर टाप कसेको बताए । साथसाथै उनले चिन्ता प्रकट गरे, ‘संसद हाटा नबनोस् । हाजीर गर्ने टाप कस्ने माध्यम नबनोस् सभामुख महोदय ।’
खतिवडालाई ‘ध्यानाकर्षणको लागि माननीय ज्युलाई धन्यवाद’ भनेर थुमथुमाउन खोजेका सभामुखलाई केही बेरपछि अन्य सांसदहरुले फेरि ध्यानाकर्षण गरे । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)काी सांसद सुमना श्रेष्ठ लगायतले प्रश्न गरेपछि सभामुखले हाजीर गरेका सांसदहरु संसद भवन परिसरमै रहेको हुन सक्ने विश्वास व्यक्त गरे ।
संसद भित्रको उपस्थितिको सवालमा प्रश्न उठाएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुखले भनेका छन्, ‘संसदमा उपस्थित भइ हाजिरी समेत गरिसकेका माननीय ज्युहरु हामीलाई विश्वास छ यही हलको वरिपरी रहनुभएको होला ।’ हाजीर गरेका सांसदहरु जहाँ कहीँ भए पनि सभाकक्षभित्र आउने विश्वास गर्न उनले सांसदहरुलाई आग्रह गरे ।
संसदमा हाजीर गर्ने तर, बैठकमा निरन्तर नबस्ने माननीयहरुको प्रबृति नयाँ भने होइन । जब कुनै विधेयक अगाडि बढाउने प्रक्रिया अगाडि बढ्छ त्यसबेला गणपुरक संख्या पुग्छ कि पुग्दैन भन्ने चिन्ताले संसदलाई सताउने गरेको छ ।
देखिएको पछिल्लो उदाहरण – फागुन १२ गते प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको अनुगमन तथा मुल्यांकन विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची तय गरेको थियो ।
सभामुखले कार्यसूचीअनुसारको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न खोज्दा गणपूरक संख्याबारे प्रश्न उठ्यो । गणना गर्दा जम्मा ५० जना मात्रै उपस्थित देखिए । जबकी त्यसदिन १६० जनाले हाजिर गरेको संघीय संसद सचिवालयको रेकर्डमा छ ।
त्यसदिन रोकिएको विधेयक अगाडि बढ्न झण्डै एक महिना लाग्यो । फागुन १२ गते गणपूरक संख्या नपुगेर रोकिएको अनुगमन तथा मुल्यांकन विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाले चैत ५ गने पारित ग¥यो ।
गणपुरक सम्बन्धी व्यवस्था संविधानको धारा ९४ मा छ । जहाँ भनिएको छ, ‘यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।’