समाचार

लागत नउठ्दै भत्काइयो टहरा

६ बैशाख, ताप्लेजुङ । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बताए। बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउने । तर, टहरा बनाउँदाको लागत नउठ्दै नगरपालिकाले जेसिभी मेसिन लगाएर टहरा भत्काईदिएपछि उनलाई अब के गर्ने भन्ने चिन्ता छ ।

“यहीँबाट केही गरौँला भन्ने थियो, लागत नउठ्दै घर टहरा भत्कियो, अब कहाँ जाने, के गर्ने भन्ने चिन्ता छ”,उनले भने। झण्डै तीन लाखमा बनेको टहरामा जहान परिवारसहित आएर उनले चियाखाजा र पेय पदार्थको व्यापार गर्दै आएका थिए ।

यता तोक्मेडाँडामै आठ महिनाअघि रु २५ लाख भन्दा बढीको लागतमा बनेको सुरेन्द्र लिम्बूको घर पनि भत्किएको छ । जडीबुटीको व्यापार व्यवसाय गर्दै आएका लिम्बूले घर बनाउँदै गर्दा यति छिट्टै सडक विस्तार होला र घर भत्किएला भन्ने सोच्को थिएन ।

“मन मिचेर दोधारमै घर बनाइयो, साथीभाइले लगानी नगर भन्दै थिए, बनाइहाले, अब अहिले विकासको कुरासँग जोडिएको सडकको आवश्यकताले भत्कियो, के गर्ने घाटा त भयो नै तैपनि अन्यत्र सरेर केही गर्नुपर्ला”, लिम्बूले भने। लगानी नउठ्दै व्यवसायका लागि बनाएको घर भत्किँदा स्कुले छोराछोरीसहित बसेका लिम्बू दम्पत्तिको मन पनि भत्किएको छ । यस्तै केही वर्षअघि भूइँ भाडामै लिएर टहरा बनाइ चिया खाजा बेच्दै आएका फुङलिङका मोहन भट्टराईको समेत टहरा भत्कियो ।

यसरी व्यवसायकै लागि घर टहरा बनाएर बसेका उनी मात्रै नभइ दर्जनौँ घरपरिवार समस्यामा परेका छन् । सडकको क्षेत्राधिकारभित्र परेका घर, टहरा तथा अस्थायी संरचना मङ्गलबार फुङ्लिङ नगरपालिकाले डोजर लगाएर भत्काएपछि कतिपय विस्थापित बनेका छन् भने कतिपय सामान्य भत्किएका घरमा बसेका छन् । घर टहरा बनाउँदा नदेखेझैँ गरेको नगरपालिकाले अहिले ठूला घर छाडेर जीविका चलाउन बनाएका साना टहरा नै पहिले भत्काएर दुःख दिएको गुनासो गरेका छन् ।

नगरपालिकाले डोजर नै चलाएर भत्काउन थालेपछि भने स्थानीयवासीले आफूले बनाएका संरचना आफैँले भत्काउन थालेका छन् । कतिपयले सडकको भाग खाली गरेर पछाडि बाँकी रहेको संरचना मर्मत सम्भार गरिरहेका छन् । सडकको क्षेत्राधिकारभित्र जानाजान ठूलो लगानी गरेर घर टहरा बनाउँदा क्षति भोग्नुपर्ने अवस्था आएको सरोकारवालाले बताएका छन् । कतिपयले नगरले गरेको सूचना बेवास्था गर्दा क्षति पुगेको बताए ।

सडकको नक्शाङ्कन गरी सडकको क्षेत्र भित्र पर्ने घरटहरा खाली गर्न तथा हटाउन पटक–पटक गरेको सूचना बेवास्ता गरेपछि नगरपालिकाले जेसिभी मेसिन लगाएर आंसिक रुपमा भत्काएर खाली गर्ने प्रक्रिया सुरु गरेको हो । साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढ्दै गएकाले सडक फराकिलो बनाउने र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले सडक क्षेत्राधिकारभित्रका संरचना हटाएर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको नगर प्रमुख अमिर मादेनले बताए।

मेची राजमार्ग अन्तर्गत पर्ने भन्दै सडक डिभिजन कार्यालय इलामले अस्थायी संरचना हटाउन गएको पुसमा ३५ दिने सूचना निकालेको थियो । सो अवधिमा कसैले नहटाएपछि नगरपालिकाले पुनः १५ दिने सूचना जारी गरेको थियो । यसरी पटक–पटक गरेर तीन पटक सूचना गर्दासमेत नहटेपछि नगरपालिकाले डोजर प्रयोग गरेर मङ्गलबार भत्काएको हो । कसैले नभत्काएपछि मङ्गलबार आंशिक रुपमा भत्काइएको र अब पनि नक्शाङ्कन भएको भाग खाली नगरे पूरै संरचना भत्काउने नगर प्रमुख मादेनको भनाइ छ ।

हाल कायम रहेको सडकमध्ये दायाँवायाँ साढे सात मिटरका दरले गरी १५ मिटर खाली गर्नुपर्ने उनले बताए। सडक आउनु अघि नै बनेका बजार क्षेत्रका चार वटा घरको हकमा भने सडक डिभिजनले आवश्यक क्षतिपूर्तिको प्रक्रिया सुरु गरेको बताइएको छ ।

सरकारले झापाको केचनकवलदेखि ताप्लेजुङको ओलाङ्चुङगोला सम्मलाई मेचीराजमार्ग नामकरण गरेको छ । तर बजार क्षेत्रभित्रको सडक राजमार्गमा नपर्ने भन्दै स्थानीयवासीले विरोध गरेका थिए । स्थानीय खगेन्द्र लिम्बू सहितले सर्वोच्चमा मुद्दा दायर पनि गरेका थिए । बनेका संरचना नहटाउन भन्दै अन्तरिम आदेशको माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि नगर कार्यपालिकाले बीच भागबाट दायाँवायाँ साढे सात मिटरका दरले १५ मिटर खाली गरेर सडक विस्तार गर्ने निर्णय गरेको थियो । सडक विस्तारसँगै बिजुलीका तार, पोल, खानेपानीका पाइपसमेत व्यवस्थित गर्ने नगरपालिकाले जनाएको छ ।