समाचार

सार्वजनिक बस: नजिक भई संवेदनशील अङ्ग हेर्ने, छुने  र अश्लील बोली बोल्ने कारण युवतीहरू असुरक्षित…

मुना दवाडी, ४ साउन, काठमाडौँ । के तपाईँले सार्वजनिक यातायातमा यात्रा गर्नु भएको छ ? पक्कै पनि गर्नु भएको होला । सार्वजनिक सवारी साधन भन्ने बित्तिकै फोहोर मैलो, यात्रु कोचाकोच, थोत्रा सवारी साधन र चालक तथा सहचालकको रुखो व्यवहार हाम्रो दिमागमा आउँछ  । 

यस्तै विविध कारणले गर्दा पछिल्लो समय सार्वजनिक सवारी साधनमा यात्रा गर्नु निकै कष्टकर बनेको छ । चालक तथा सहचालकको रुखो व्यवहार त छ नै, त्यसमा पनि क्षमता भन्दा बढी यात्रुहरू चढाउने हुँदा पकेटमार देखि यौन हिंसाको सिकार समेत हुनु परेको कयौँ घटनाहरू छन् ।  

विशेष गरी बालबालिका र महिलालाई  यस्ता सवारी साधनमा यात्रा गर्दा  निकै असुरक्षित र पिँडादायी देखिन्छ ।  भिडभाडको बहानामा यात्रुको पकेट मार्ने घटनाहरू त भएका छन् नै, त्यसमा पनि महिलाको नजिक हुने विभिन्न संवेदनशील अङ्गमा हेर्ने, छुने  र अश्लील खालका शब्दहरू प्रयोग गर्ने गरेको पाइन्छ । कतिपय अवस्थामा त  विभिन्न प्रलोभन देखाएर ललाई फकाई महिलालाई बसबाट झारी अन्यत्र लगेर दुर्व्यवहार गर्ने गरेको घटना  पनि हाम्रो सामु प्रशस्तै छन् । 

कहिले सम्म महिलाहरू असुरक्षित रहने ? 

पछिल्लो समय महिला हिंसाको घटनाहरू झनै बढ्दै गएका छन् ।  घर, कार्यालय, विद्यालय, कलेज हुँदै सार्वजनिक यातायात सम्म महिला हिंसाका घटना हुन थालेका छन् । बिहान विद्यालय गएकी छोरी बेलुका घर नआइपुगेसम्म आमाबाबा आनन्दले बस्न सक्ने अवस्था रहेको छैन । हरेक क्षेत्रमा  यस्ता घटनाले तीव्रता पाउँदै गएको छ । 

प्रायजसो  नियमित रूपमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने महिलाले दिनहुँ नराम्रो व्यवहार भोग्दै आएका हुन्छन् । लामो या छोटो दुरीको यात्रा गर्दा महिलाले आफ्नो आडमा महिला नै बसे हुन्थ्यो भन्ने सोच्छन् । भिडभाड र क्षमता भन्दा बढी यात्रु राख्ने चढाउने भएकाले महिलाको साथमा महिला नै बस्दछन् भन्ने हुँदैन ।  

कतिपय अवस्थामा महिला यात्रु माथि चालक तथा सहचालकबाट समेत नराम्रो व्यवहार हुने गर्दछ ।  कहिले त्यसको प्रतिकार स्वरूप प्रहरीमा उजुरी दिएका हुन्छन् भने कतिले  यस्तो विषयमा खुलेर बताउन चाहँदैनन् । अझ यौन हिंसा छुट्टाउन  नसक्ने महिला तथा  विद्यालय जाने किशोरीहरू डरको कारणले सहेर बस्ने गरेका छन् । 

केही समय अगाडी मात्र काठमाडौँ बानेश्वरस्थीत एक प्राइभेट कम्पनीमा काम गर्ने निशा (नाम परिवर्तन) सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आफू माथि नराम्रो व्यवहार भएको बत्ताउँछिन् । टोखाबाट सार्वजनिक यातायात चढेर अफिस जाँदा पटक पटक भिडभाडको बहाना बनाएर पछाडिबाट धकेल्ने गरेको र आफूलाई हतार भएको कारण केही नबोल्ने गरेको उनी बत्ताउँछिन् । 

कहिलेकाहीँ बसमा उभिँदा समेत केही पुरुषबाट नराम्रो व्यवहार  महिला यात्रुहरूले भोग्दै आएका हुन्छन् । यस्तो अवस्थामा कतिले त भिडभाडले गर्दा भनेर सामान्य रूपमा लिने गर्छन् भने कहिले खुलेर बताउने गर्छन् । 

कहिले सहचालकले भाडाको लागी किचकिच गर्छ त कहिले बसबाट झर्ने समयमा छिटो र्झनुस कत्ति बेर लगाएको भन्दै रुखो बोलि सहनुपर्ने बाध्यता सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूमा हुन्छ । 

केही समय अगाडी मात्र हो म  किनमेलको लागी न्यु रोड  गएको थिए । बेलुका घर फर्कनलाई सुनधारामा बस, माइक्रो कुरेर बसेको थिए । बेलुकीको ५ बजिसकेको थियो करिब आधा घण्टा कुरे पछि सामाखुसी यातायात आयो तर त्यहाँ पाइला राख्ने ठाउँ थिएन म चढ्न सकिन र अर्को बस कुरेँ।

त्यसको केही समयमा सानो माइक्रो आयो त्यसमा पनि मानिसहरूको भिड थियो तर बेलुका भएको कारण म बल्लतल्ल चढे  । बस्ने ठाउँ त के खुट्टा राख्ने ठाउँ समेत थिएन । ‘पछाडि जानुस्,पछाडि जानुस्’ ‘ए दिदी पछाडि जानुस्  भनेको सुन्नु भएन’, भन्दै सहचालक कराउँदै थिए । पछाडिबाट एक महिलाले भनिन्  ठाउँ छैन भाइ कहाँ जाने । सर्ने भए सर्नुस् नत्र झरे हुन्छ, यस्तो मान्छे त आफ्नै गाडी किन्नु नि सहचालक रुखो बोलिला भन्दै थिए । 

सार्वजनिक यातायात रहर कि बाध्यता 

यसरी भिडभाड र कोचाकोच भएको  सवारी साधनमा चढेर यात्रा गर्नु आम मानिसको रहर नभई  पछिल्लो समय बाध्यता बनेको छ ।  गाउँबाट उच्च शिक्षा र रोजगारीको लागि सहर पसेका हुन्छन् । बिद्यार्थीहरुलाई बिहान कलेज र दिउँसो जागिर गर्नुपर्ने बाध्यता हुन्छ । कामबाट आएको पैसाबाट नै कलेज फी देखी कोठा भाडा समेत तिर्नु पर्ने बाध्यता उनीहरूमा छ ।   

उनीहरू कलेज जाँदा होस या कार्यालय जाँदा होस सार्वजनिक यातायात चढ्नु बाहेक अरू केही विकल्प हुँदैन ।  उनीहरूसँग निजी सवारी साधन स्कुटर किन्ने रहर भए पनि रकमको अभावले किन्न नसकी सार्वजनिक बस, माइक्रो, टेम्पुमा यात्रा गर्दा नराम्रा व्यवहारहरू भोग्दै यात्रा गर्न बाध्य छन् । सिट सङ्ख्या अत्यन्तै कम हुन्छ भने यात्रुहरू धेरै भएका कारण बिद्यार्थीहरुको यात्रा सुरक्षीत्र हुने कल्पनाभन्दा बाहिरको कुरा भइरहेको छ । ब्यावशायी, सरकार, स्थानीय तह, सचेत नागरिक, सरोकारवालाले ध्यान दिनुपर्ने भए पनि  यसतर्फ नत सरकारको ध्यान गएको छ न त सम्बन्धित निकायको  ।  

नेपाल टारबाट नयाँबानेश्वर काम गर्ने अप्सरा खनाल (नाम परिवर्तन) बिहान ९ बजे घरबाट  हिड्छिन । बिहान कलेज दिउसोमा अफिस ।  उनलाई अफिस आइपुग्न करिब २ घण्टा लाग्छ । बेलुकी ५ बजे छुट्टी हुन्छ तर उनी सात बजे घर पुग्छिन्, कारण हो समयमा सवारी साधन नपाउनु, पाए पनि सवारी जाम, भिडभाडले गर्दा उनी  कोचिएर यात्रा गर्न बाध्य छिन । आजभोलि त उनलाई यसरी कोचिएर यात्रा गर्न बानी भइसकेको छ । “सुरु सुरुमा त गाराे हुन्थ्यो तर आजभोलि त बानी भइसक्यो यसरी हिँड्ने, के गर्नु काम गर्नै पर्‍यो ।” उनले बताइन् । 

अप्सरा त एउटा प्रतिनिधि पात्र मात्र हुन ।  दिनहुँ हजारौँको सङ्ख्यामा रहेका यात्रुहरूले यस्तै सास्ती भोग्दै आउनु परेको छ

धेरैजसो साना सवारीसाधन सडकमा गुड्नु, थोरै मात्र यात्रु क्षमता हुनु र बेलुकाको समयमा सार्वजनिक सवारी साधन नपाउनु नै कोचाकोच र असुरक्षित  यात्रा गर्न बाध्यहुनुको कारण हो । सरकारले यस्ता घटनाहरूको न्यूनीकरणको लागि विभिन्न समयमा विभिन्न खालका आचारसंहिता बनाए पनि व्यवहारमा लागु भएको पाइँदैन । यस्ता समस्याहरू  ज्युँ का त्युँ छन् । न त विद्यालय गएकी एउटी छोरी सुरक्षित छे, न त अफिस कार्यालय जाने आम महिलाहरू नै ! तीनै तहका सरकारले यस बिषयमा गम्भीर भएर चासो दिन जरुरी छ ।